पोष्टमार्टम लगायतको सेवाले इन्द्रेणीपोखरी आधारभुत अस्पतालप्रति जनविस्वास बढ्दै

खोटेहाङ । खोटेहाङ गाउँपालिकामा संचालित इन्द्रेणीपोखरी आधारभुत अस्पतालप्रति आम नागरिकमा जनविश्वास बढ्दै गएको छ । आसपासका मानिसहरुलाई स्वास्थ्य सेवा सहजताका साथ उपलब्ध गराउन थालेपछि आम मानिसमा जनविश्वास बढेको हो ।

खोटेहाङ गाउँपालिकाले इन्द्रेणीपोखरी डाँडामा १५ शैयाको आधारभुत अस्पताल संचालनमा ल्याएपछि स्वास्थ्य सेवामा प्रभावकारीता समेत बढेको छ । खोटाङ जिल्लाको दक्षिणी भु–भागका नागरिकहरुलाई सेवा प्रदान गर्दै आएको अस्पतालले सुविधा सम्पन्न अस्पतालहरुले दिने बराबरको सेवा सुविधा दिँदै आएको हो ।

खोटेहाङ गाउँपालिका वडा नम्बर ६ इन्दे्रणीपोखरीमा रहेको आधारभुत अस्पतालले यस क्षेत्रका लागि नमुना उपचार सेवा प्रदान गर्दै आएको अस्पतालका डाक्टर प्रमोद कुमार यादवले जानकारी दिए । उनका अनुसार अस्पतालले एक्सरे, भिडियो एक्सरे, ल्याव सेवा लगायतका थुप्रै सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नै एम्बुलेन्स सेवा समेत रहेको आधारभुत अस्पतालले गाउँको कुना कुनामा पुगेर सहुलियत भाडादरमा बेरामीलाई सेवा प्रदान गरिरहेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राईले जानकारी दिए । ‘ २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराएर विरामीलाई सजिलो बनाई दिएका छौँ ।’ पालिका अध्यक्ष राईले भने, ‘विरामीको प्रकृति हेरेर रेफर गरिएको विरामीलाई विषय विज्ञ डाक्टर भएको ठाउँमा पु¥याउन अहिले सहज भएको छ ।’

आकस्मिक उपचार देखि गम्भिर प्रकृतिको उपचारहरु भईरहेको यस स्वास्थ्य संस्थामा विष सेवन गरेका विरामीहरुको उपचार तथा आकस्मिक मृत्युपछिको शव परिक्षण (पोष्टमार्टम) समेत गरिने यादवले जानकारी दिए । गम्भिर तथा जटिल प्रकारका रोगहरु देखा परेरस्थानीय स्तरमा उपचार सम्भव नभएमा गरेर सम्बन्धित विशेषज्ञ डाक्टरकोमा रेफर गर्नु गरिएको उनको भनाई छ ।

नेपालमा संघीय गाणतन्त्र स्थापना पछि शुरु भएको १५ शैयाको अस्पतालमा सामन्यदेखि जटिल प्रकारका विरामीहरुको उपचार हुँदै आएको इन्द्रेणी पोखरीका वडाअध्यक्ष वसन्त राईले जानकारी दिएका छन् । ‘अरु त त्यस्तै हो मुख्य त यहि अस्पतालमा पोष्टमार्टम गरिने भएकाले धेरैलाई राहत भएको छ ।’ उनले भने, ‘यहाँ अस्पताल नहुँदा सामान्य मर्केको सडकेको विरामी समेत एक्सरे गराउन कि दिक्तेल कि गाईघाट पुग्नु पथ्र्यो ।’

उसो अस्पताल १५ शैयाको हो । तर काम गर्ने जनशक्ति भने अभाव नै रहेको छ । एक जना एमविविएस डाक्टरको पद नै रिक्त रहेको छ । यो सँगै अन्य स्वास्थ्य कर्मीहरु अहेव, सिहेव, हेअ, अनमी, जस्ता पदहरु खाली नै छन् ।

अस्पतालमा जनशक्ति कम भएको डाक्टर यादवले बताएका छन् । दुर्गम ठाउँमा सेवा प्रदान गर्न अलिकति समस्या भएपनि हाल अस्पतालमा दैनिक जसो करिब ४०÷४५ जना विरामीहरु आउने गरेका उनको भनाई रहेको छ ।

ग्रामिण क्षेत्रमा यतिको सुविधा सम्पन्न अस्पताल हुनु नै ठुलो कुरा रहेको स्थानीयको भनाई रहेको छ । सारो गारो पर्दा सुलभ तरिकाले उपचार तथा सल्लाह सुझाव पाउनुलाई उनिहरुले महत्पुर्ण मानेका छन् ।