दिप्रुङचुईचुम्म । दिप्रुङ चुईचुम्मा प्राज्ञिक समाज खोटाङले आयोजना गरेको राष्ट्रिय खुल्ला कविता प्रतियोगितामा उदयपुरकी कवि सुमि पोखरेलले उपाधी जितेकी छन् । प्राज्ञिक समाजले आव्हान गरेको कविता प्रतियोगिताका लागि प्राप्त ६७ वटा कविता मध्ये कवि सुमि पोखरेलको कविता उत्कृष्ट भएको हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा ६७ वटा कवितामध्ये छानिएका १५ वटा कविता वाचन गर्नेगरी निर्णायकहरुले छनौट गरेका थिए । भौगोलिक विकटताका केही कविहरु बाचनका समयमा उपस्थित हुन नसकेको आयोजकले जनाएको छ ।

कविता प्रतियोगितामा धनकुटाको भरत थापाले दोस्रो स्थान हासिल गरेका छन् । यस्तै खोटाङ जिल्ला केपिलासगढीका अनाम उपेक्षित तेस्रो स्थानमा रहेका छन् भने सिन्धुलीका रुपक जमरा र धनकुटाकै अनिल सुवेदीले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगिताको प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने कविहरुले क्रमश ३० हजार, २० हजार, १० हजार र ५÷५ हजार राशीको पुरस्कार र प्रमाणपत्र प्राप्त गरेकाछन् । पुरस्कृत कविहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

देशव्यापी भएको खुल्ला प्रतियोगिताका लागि कास्की, रुपेन्देही, मकवानपुर, सिन्धुली, धनकुटा, ओखलढुँगा, काठमाडौँ, उदयपुर लगायत ११ वटा जिल्लाका कविहरुले सहभगिता जनाएका थिए । अन्तिम प्रतिस्पर्धामा ११ वटा जिल्ला छानिएपनि जम्मा देशका २४ जिल्लाबाट कविताहरु प्राप्त भएको आयोजकले जनाएको छ ।