
खोटाङ बैशाख–१०, खोटाङस्थित रावाबेंसी गाउँपालिकाका दुई वटा वडामा १८ प्रतिशत भन्दा बढी महिलामा पाठेघर खस्ने समस्या पाईएको छ । उक्त गाउँपालिकाको ४ नम्बर वडा डुम्रेधारापानी र ५ नम्बर वडामा पर्ने दुवेकोलका १८ प्रतिशत बढी महिलामा पाठेघर खस्ने समस्या पाईएको हो ।
वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को आर्थिक सहयोगमा सञ्चालित महिला प्रजनन् अधिकार कार्यक्रम अन्तर्गत हलेसी विकास मञ्च नेपालले गरेको घरधुरी सर्भेक्षणमा पाठेघर खस्ने बिकराल समस्या पाईएको हो । उक्त वडाका कुल घरधुरीको ३० प्रतिशत घरधुरीमा सर्भेक्षण गरिएको कार्यक्रम संयोजक बिरेन्द्र मगरले बताउनुभयो ।
यौनको बिषयमा खुलेर बोल्न नचाहाने, समस्याहरु लुकाएर वस्ने अर्थात उपचार वारेमा जानकारी नहुँदा पाठेघर खसेका महिलाहरु पीडादायी जीवन विताउन बाध्य पाईएको मगरको भनाई छ । गाउँघरमा लुकेर रहेको पाठेघर खस्ने समस्या प्रति सरोकारवालाहरुको चासो नदेखिएको मगरले सुनाउनुभयो । स्थानीय सरकारले पाठेघर खस्ने समस्यालाई महिलाहरुको मात्र समस्याको रुपमा नहेरी एउटा सवालको रुपमा लिनु आवश्यक भएको सामाजिक अभियान्ताहरु बताउँछन् ।
महिलाहरुको पाठेघर खस्ने समस्या न्युनिकरण गर्ने उद्देश्यले केडसँगको सहकार्यमा हलेसी बिकास मञ्चले बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाभरकै महिलाहरुमा पाठेघर खस्ने बिकराल समस्या देखिदैं आएको छ ।