कात्तिक–२३ खोटाङ, खोटाङ सदरमुकाम दिक्तेलबजारमा प्रदर्शन भईरहेको देशभक्ति भावको चलचित्र ‘भिमदत्त’ जिल्ला प्रशासनले बिचैमा रोक्दा दर्शकले प्रशासन बिरुद्द नाराबाजी गरेका छन् । जिल्लाको खोटेहाङ गाउँपालिका–८ स्थायी घर भएका नायक तथा निर्माता नवल खड्काले निर्माण गरेको चलचित्र भिमदत्त बुधबार साँझ प्रशासनकै अनुमतीमा प्रदर्शन शुरु गरिए पनि बिचमा प्रशासनले नै बन्द गराए पछि दर्शकले प्रदर्शनस्थलमा नाराबाजी गरेका हुन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठ नेतृत्वको टोलीले चलचित्र प्रदर्शन भईरहेको स्थल त्रिवेणीचोकमा आएर निर्बाचन आचारसंहिता उल्लंघन गर्दै ‘फिल्म चलाउन नपाईने’ भन्दै बबण्डर मच्याएपछि प्रशासनले चलिरहेको फिल्म बिचैमा रोकेको बताईएको छ । आगामी निर्बाचनको समानुपातिक उम्मेदवार समेत रहेका नेकपा माओबादी केन्द्रका खड्काले चलचित्र प्रदर्शनीमा चुनाबी मन्तब्य ब्यक्त गर्दै आचारसंहिता उल्लंघन गरेको कांग्रेसको आरोप थियो । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म कुनै पनि चुनाबी कार्यक्रम आयोजना गर्न नपाईने आचारसंहिताको कुरा उठाएर सेन्सर भई देश–बिदेशमा प्रर्दशन भईसकेको चलचित्रलाई दर्शकको चाहाना अनुरुप प्रदर्शन गर्दागर्दै बीचैमा रोक्नुले प्रशासन कांग्रेसको ईशारामा चलेको देखिएको प्रर्दशन पक्षका ब्यक्तिहरुको भनाई छ । नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष समेत रहेका नायक तथा निर्माता खड्का भने आफ्नो जन्मभूमि आएको मौकामा जिल्लावासीको अनुरोधमा निःशुल्क चलचित्र प्रदर्शन गर्ने कार्यक्रम बनाइएको बताउँछन् ।
करिब साँढे छ बजेबाट शुरु भएको फिल्म बिचैमा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको निर्देशनमा प्रहरीले रोकेपछि सहभागी दर्शकले प्रशासन कांग्रेसको इसारामा चलेको भन्दै प्रशासन विरुद्ध चर्को नारा लगाएका हुन् ।
करिब एक घण्टा प्रदर्शन भएर रोकिएको उक्त चलचित्र पुनः बिहिबार दिउसो हलमा प्रदर्शन गर्ने नायक तथा निर्माता खड्काले बताए । खड्काको अनुसार प्रशासनकै अनुमती लिएर चलचित्र प्रदर्शन शुरु गरे पनि सम्भाबित दुर्घटनालाई रोक्न प्रदर्शन भइरहेको फिल्म रोकिएको हो ।
घरको पेटी तथा सडकमा घुईंचो लागेर फिल्म हेरिरहेका दर्शकहरु फिल्म रोकिएपछि एक्कासी नाराजुससहित उर्लिएपछि नेकपा (एमाले)का जिल्ला उपसचिव कुमार आचार्य र नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी (धिरेन)ले संयम हुन अनुरोध गरेका थिए । उनीहरुले काँग्रेसको उक्त गतिविधिप्रति खेद व्यक्त गर्दै जनताको चाहना विपरित कार्य भएको प्रतिक्रिया दिए ।
फिल्म प्रदर्शनका क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै आयोजकसँगको सल्लाहमै प्रदर्शन रोकिएको प्रजिअ अधिकारीले बताए । चलचित्र भिमदत्त देशभक्ती गाथाले ओतप्रोत भएको ऐतिहासिक व्यक्तित्वको जीवन कथामा आधारित चलचित्र हो ।