कात्तिक–३०, पश्चिम मकवानपुरको मुख्य बजार क्षेत्र मनहरीमा मंगलबार साँझ करिब ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ को समिलडाँडामा खुकुरीले हानेर ३ जनाको हत्या भयो भन्ने खबर आयो । घटनास्थल मनहरी बजारबाट करिब १ किलोमिटर पश्चिम पर्दछ ।
खुकुरी प्रहार भयो भन्ने अपुष्ट खबर आएपछि केही स्थानीय खबर आएतिर जानुभयो । घटना सत्य रहेछ । एक घाइतेलाई केहीले टाउकोपट्टि बोक्ने गरे भने प्रहरीहरुले हात र खुट्टा समाएर उद्दार गरे । दुई हात लगाएर घाँटीको पछाडि भागमा समाउनुभएका स्थानीय सञ्चारकर्मी शिवकुमार काशीले घाइतेको अनुहार राम्ररी नहेरे पनि बोक्दा आफ्नो हात त घाँटीभित्र गढेको सुनाउनुभयो । आङ सिरिङ्ग भयो, हातभरि रगतैरगत ।
ती व्यक्तिलाई पछाडिको भागबाट घाँटीमा खुकुरी प्रहार भएको रहेछ । काशीलाई असह्य पीडा भएर घाँटी छिन्न खोजेको त्यो मानिसको शरीर थाम्न उहाँले अर्का साथीलाई गुहार्नुभयो । अरुले ढाडपट्टि आड दिएपछि काशीले घाँटीबाट हात हटाएर शरीरतिर सार्नुभयो । अस्पतालको बेडमा घाइतेलाई पु¥याइयो ।
भीड थुप्रै बढ्यो । प्रहरीसँग थप सूचना लिइयो । अर्का दुई जनाको हालत पनि त्यस्तै छ र भरतपुर पठाइएको छ भन्ने उहाँले बुझ्नुभयो । त्यसपछि उहाँले आफू प्रवन्ध निर्देशक रहेको मनहरी एफएममा लाइभ गर्नुभयो । डाक्टरले अझै केहीबेर पर्खनुस् है भनेर चेकजाँच गरिरहे । मृत्यु घोषणामा डाक्टरहरुले ढिलाइ गरिरहे ।
घाइते ती व्यक्ति थिए ५२ वर्षीय सीताराम धिताल । धितालसँग काशीको पहिलो भेट गत स्थानीय तहको निर्वाचनका क्रममा उहाँकै घरमा भएको थियो । सानो एकतले, दुईपाखे फुसको घर । घरले नै उहाँको अर्थिक विपन्नता प्रष्ट्याउँछ । हेटौंडाको हर्नामाडीबाट केही वर्षअघि बसाईं सरेर मनहरी जानुभएको रहेछ धिताल ।
छोराछोरी पाल्नका लागि ज्याला मजदुरी काम गर्नुहुन्थ्यो । धिताल आफू काम गर्ने र अरुलाई सघाउने स्वभावका रहेको छिमेकीहरु बताउँछन् । उहाँको घरभन्दा करिब ५० मिटर उत्तरतिर एउटा चिटिक्क परेको घर छ । त्यो घर सुमन बराइलीको हो । सुमनका कान्छा छोरा र सीतारामका कान्छा छोराबीच केही महिनाअघि मात्र मितेरी साइनो जोडिएको थियो ।
करिब ३२ वर्षका सुमन र ५२ वर्षका सीताराम यसर्थ मितसाइनोमा बाँधिनुभयो छोराहरु मार्फत् । सुमन केही वर्षयता असामान्य अवस्थामा रहेछन् । केही समयपहिले हेटौंडा ल्याएर उपचार गर्दा मानसिक रोगी भएकाले औषधि पनि खुवाइएको रहेछ ।
तर, मंगलबार साँझ छोराले गरेको पाप सम्झेर रुँदै गर्नुभएकी उनकी बयोबृद्ध आमाले यो कुरा सुनाउनुभयो । सुमनकी भाउजुले पनि उनी मानसिक रोगी रहेको पुष्टि गर्नुभयो । केही दिनदेखि सुमन घरबाट हराएका रहेछन् । सोमबार उनलाई खोजेर घर ल्याइएको रहेछ । हेटौंडाको कर्राक्षेत्रमा फेला पारेर ल्याइएका सुमन १ वर्षअघि समिलडाँडा बसाईं आएका हुन् । जसका कारण उनको आनीबानी र व्यवहार छिमेकीहरुलाई त्यति जानकारी रहेनछ ।
नजिक सुमनको दाइको पनि घर छ । हेटौंडाको कर्राबाट खोजेर ल्याइएका सुमन फेरि हराएपछि मंगल विहान खोजेर ल्याइएको रहेछ । चिटिक्क परेको एकतले घर, घरको उत्तरतर्फ सफा शौचालय, पूर्व फर्केको घरको आँगन, सायद सुमनका परिवारले त्यही घरमा वर्षाैसम्म घामपानी टारौंला भन्ने सोचेर निर्माण गरेका थिए होला ।
उनले आफ्नै मित, मितछोरा र बाटोमा भेटिएका बहिरा र अल्पदृष्टि भएका छिमेकीलाई खुकुरीले खसी झैं मार हानेर मारे । त्यो पनि मित र मित छोरालाई आफ्नै घरमा । र, अर्का बृद्धलाई बाटोमा हिँडिरहेको अवस्थामा खुकुरी हाने ।
मंगलबार साँझ काम सकेपछि सीताराम मित सुमनको घरमा जानुभएको रहेछ । घरमा बस्नु, कामधाम गर्नु, सधंै कताकता हराउनुहुन्छ भनेर सम्झाइ बुझाइ गर्न उहाँ घरमा जानुभएको रहेछ । सुमन चाहिँ विहानैदेखि चुरियामाईले बोलाएको छ भन्दै असामान्य भाषा बोल्दै थिए रे । बेलाबेलामा बलि पनि माग भएको भन्न पनि भ्याउँथे रे सुन्नेहरुका अनुसार ।
यत्तिकैमा के झोंक चल्यो, आफ्नै घरको सिमेन्टेड आँगनमा मित सीतारामलाई खुकुरी प्रहार गरे । मितको आधाभन्दा बढी गर्दन काटियो, सीताराम त्यहीँ ढल्नुभयो । बुबालाई हानेको देखेर दौडेर सीतारामका १३ वर्षीय छोरा सुदन आइपुगे । उनलाई त्यसैगरी आँगनमै ढलाइदिए, गर्दनमै हानेर ।
त्यसपछि साँढे बनेर नांगो खुकुरी लिएर बाटैबाटो दाइको घर हुँदै सुमन हिँडे । दाइकी छोरी रोशनीलाई पनि खुकुरी प्रहार गरे । तर, रोशनी डरले कान्लाबाट हाम्फालिन्, खुकुरीको चुच्चोले उनको घाँघर च्यातियो र पाखुरामा केही चोट लागेको सञ्चारकर्मी काशीले बताउनुभयो ।
देवरले मान्छे मारेपछि कोलाहाल भएको गाउँ र आफ्नो घरतिर आइरहेका देखेर उनकी भाउजुले हत्तपत्त ढोका बन्द गर्नुभयो । गाउँलेहरुको भागाभाग भयो । यस्तैमा करिब ६५ वर्षीय बृद्ध झाँक्री जीतबहादुर ब्लोनलाई सुमनले भेट्छ । खुकुरी नचाउँदै आएका सुमन देखेर सबैजनाले ब्लोनलाई भाग्न भन्छन् । तर, कान राम्ररी नसुन्ने उहाँले केही बुझ्नुभएन । यत्तिकैमा ब्लोनलाई सुमनले गर्दनमै प्रहार गर्छन्, मित सीताराम र मितछोरा सुदन झै । ब्लोन बाटामै ढल्नुभयो ।
मान्छे मारेको र खुकुरी लिएर हिँडेको देखेपछि युवाहरुले सुमनलाई पछ्याए ।
तर उल्टै सुमनले खुकुरी ताकीताकी युवाहरुलाई लखेटे । यस्तैमा एकजना म्यादी प्रहरीको फोन इलाका प्रहरी कार्यालयमा बज्छ । र, तत्काल प्रहरी निरीक्षक चित्रबहादुर घलेसहित टोली घटनास्थल पुग्छ । प्रहरीसहित गाउँलेहरु मिलेर सुमनलाई लखेट्छन् । उल्टै प्रहरीलाई समेत सुमनले लखेट्न खोज्छन् । घलेले प्रहरी उपरीक्षक विकासराज खनाललाई फोन गरेर गोली हान्ने आदेश माग्नुभयो । उताबाट ओके पनि आउनु र गाउँलेहरुले हानेको ढुंगा लागेर सुमन लड्नु एकैपटक भयो । अनि सुमन पक्राउ पर्छन् । यो बेला सुमन घटनास्थलबाट करिब २ सय मिटर उत्तरपूर्व खोल्सानेर पुगेका हुन्छन् ।
यसरी निर्दाेष ३ जनाको ज्यान अकालमा जान्छ । बिनाकारण मान्छेहरु काटिन्छन् ।
प्रारम्भिक अनुसन्धानबाट यो मानसिक सन्तुलन गुम्दाको परिणाम हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । इलाका प्रहरी कार्यालयमा ल्याइएका सुमनसँग कुरा गर्दा उनी बेहोसीकै कुरा गर्छन् । उताबाट आएका मान्छेले मेरो आमाबुबा, पत्नी, छोराछोरी सबै मारें भन्छन् । उता भनेको कता भनेर प्रश्न गर्दा देवी गढीमाई भन्छन् । गढीमाईबाट मलाई यस्तो आदेश आएको भन्छन् ।
घटना देखेका सुमनकी पत्नी र छोरा बेहोस छन् । उहाँहरुलाई भरतपुर लगिएको छ । मृतकको परिवार शोक छ । अझ मृतककी पत्नीलाई साँझ ९ बजेसम्म यथार्थ जानकारी दिइएन । साँझ सशस्त्र प्रहरी, इलाका प्रहरी, म्यादी प्रहरी, जनप्रतिनिधि र युवासहित टोलीले घटनास्थल अनुगमन गर्दा रगत यत्रतत्र देखिन्थे । घटनास्थलबाट ढाकाटोपी, ह्याट र चप्पलहरु भेटिए । केही पर झाडीमा खुकुरी भेटियो । (नेपाल समाचारपत्र दैनिकबाट)