खोटाङ कात्तिक–३०, मापन तथा मूल्याङकनमा खोटाङ जिल्लाकै अन्तिममा परेको स्वास्थ्यचौकी छलफल नै नगरी सार्न लागिएको भन्दै खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका स्थानीयले नाराजुलुस सहित विरोध गरेका छन् । स्वास्थ्य संस्थाको कार्य सम्पादन तथा मापनमा जिल्लाकै अन्तिमा परेको लफ्याङस्थित मेघेचौतारामा रहेको स्वास्थ्यचौकीलाई करिब २ किलोमिटर तल मोहोरिया भन्ने स्थानमा सार्न लागिएको भन्दै असन्तुष्ट स्थानीयले बिहिबार स्वास्थ्यचौकीमा ताला लगाएर नाराजुलुस गरेका हुन् । 
सूचना टाँस गरेर निशुल्क जग्गा आव्हान गरिएपछि साविकको स्वास्थ्यचौकी नजिक पर्ने बाबुराम राई र बिजय राईले पाँच रोपनी जग्गा दिन तयार भए पनि स्वास्थ्य सहयोग समितिका अध्यक्ष रहेका वडाध्यक्ष निर्मल राईले स्वास्थ्यचौकी सार्न खोजेको स्थानीय प्रेम कटवालले बताउनुभयो । गएको आर्थिक बर्षमा जिल्लाकै अन्तिममा परेको स्वास्थ्य चौकीका लागि स्वास्थ्य सहयोग समितिले शान्तिशोभा राई र चरी राईले हाल सार्न भनिएको स्थान मोहोरियामा दिएको जग्गा बुधबार पास गरेपछि असन्तुष्ट पक्षले बिरोध गर्दै  जिल्ला प्रशासन कार्यालयमा डेलीगेसनमा पुगेका छन् । 
आफुहरुले साविकको स्वास्थ्यचौकी नजिक जग्गा दिन खोज्दा स्वास्थ्य सहयोग समितिले निवेदन लिन नै अस्वीकार गरेको असन्तुष्ट पक्षको आरोप छ । 
वडाअध्यक्ष निर्मल राईले भने सर्वदलीय बैठककै निर्णय अनुशार नै स्वास्थ्यचौकी सार्नका लागि जग्गा पास गरेको बताउनुभयो । 
प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीको कार्यकक्षमा भएको छलफलमा स्वास्थ्यचौकी गर्ने निर्णय तत्काल कार्यान्वायन नगर्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका  प्रमुख डाक्टर रामबहादुर केसीको संयोजकत्वमा ६ सदस्यीय स्थलगत अध्ययन टोली गठन गरिएको छ ।  छलफलमा गठित सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदी, नगरपालिकका कार्यकारी अधिकृत खिलराज राई, स्थानीय प्रेम कटवाल, उद्घब राई र युवराज कटवालको टोलीले स्थलगत अध्ययन गरेपछि ७ दिनभित्र बिबिध हिसाबले कुन स्थान उपयुक्त भन्ने रिपोर्ट बुझाउनुपर्ने टुंगो गरिएको छ । स्थलगत अध्ययनको रिपोर्टपछि मात्र स्वास्थ्य चौकी स्थानान्तरण गर्ने नगर्ने भन्नेबारे निर्णय हुने प्रशासनले जनाएको छ ।