
खोटाङ मंसिर–१२, सङ्घीय समाजबादी फोरम नेपाल खोटाङका तर्फबाट मतदान प्रतिनिधि बनेर घर फर्कने क्रममा बाटो ढुकी कुटपिट गर्ने ब्यक्तिलाई कानुनी कार्बाहीको माग गरिएको छ । जिल्लाको दिप्रुङ गाउँपालिका–३ छोरम्बुस्थित शान्ति निकेतन मिनाकर्ण माबि केन्द्रमा मतदान प्रतिनिधि बनेर घर फर्कँदै गरेको प्रबिण राईलाई कुटपिट गरी घाईंते बनाउने सोही स्थानका दिपक बस्नेत, ईष्टन बस्नेत र बिशाल बस्नेतलाई तत्काल कार्बाही गर्न सङ्घीय समाजबादी फोरम नेपाल जिल्ला कार्य समितिले प्रशासन समक्ष माग गरेको हो ।
फोरम जिल्ला कार्य समितिले मंगलबार बिज्ञप्ती मार्फत घटनाको भत्र्सना गर्दै साङ्घातिक आक्रमण गरी सख्त घाईंते बनाउने अराजक समुहलाई तत्काल पक्राउ गरी कानुनी कार्बाही गर्न माग गरेका छन् । बाटो ढुकेर बसेका युवाहरुबाट करिब साँझ ६ बजेतिर एक्कासी भएको आक्रमणमा परी प्रबिणको ओंठ लगायत अनुहारमा चोट लागेको छ ।
यस्तै, सङ्घीय समाजबादी फोरमले रुपाकोट मझुवागढी नगरपालिका–१२ का गाउँ पार्टी सदस्य परशुराम राई माथि अज्ञात समुहबाट भएको कुटपिटको घटनाको पनि घोर भतसेना भएको उल्लेख गरेका छन् । जिल्ला अध्यक्ष नबिन राईद्वारा हस्ताक्षर भएको बिज्ञप्तीमा दिक्तेलबाट घर फर्कंदै गरेको राईमाथि लोचा जंगलमा दिनको ४ बजे भएको कुटपिटको घटनाप्रति खेद प्रकट गर्दै जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउन प्रशासन समक्ष माग गरिएको छ । राईलाई गत कात्तिक १४ गते कुटपिट गरिएको थियो ।