
खोटाङ मंसिर–१४, स्थानीय तहको निर्वाचनमा ६३ प्रतिशत मत खसेको खोटाङमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मतदाता संख्या बढे पनि मतदान भने ६ प्रतिशत घटेर ५७ प्रतिशत मात्र भएको छ । स्थानीय तहको निर्वाचनमा १ लाख १५ हजार ६ सय ४४ मतदाता रहेको जिल्लामा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मतदाता संख्या बढेर १ लाख २५ हजार १ सय ८३ पुगे पनि मतदान प्रतिशत भने घटेर ५७ मा झरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अघिल्लो निर्बाचनमा छुटेका ९ हजार ५ सय ३९ नयाँ मतदाताले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराए पनि तुलनात्मक रुपमा गत १० गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा खसेको मत कम रहेको छ ।
मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मृतकको नाम नहटाईनु, वैदेशिक रोजगारमा गएका युवाले मतदान गर्न नपाउनु लगायतका कारण मतदान प्रतिशत घटेको पाईउको जिल्ला निर्बाचन अधिकारी दिनेश खत्रीको भनाई छ । खत्रीका अनुसार निर्वाचन आयोगले २०६७ सालदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गरे यता कैयौं मतदाताको मृत्यु भइसक पनि अधिकांश मृतकको नाम मतदाता नामावलीको सूचिबाट अझै हटाइएका छैन । वडा सचिवले मृतक मतदाताको नाम अद्यावधिक नगर्दा पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खसेको मतको परिमाण कम देखिएको खत्रीले बताउनुभयो । यस्तै, बसाई सरेका मतदाता नामावली पुरानै स्थानमा कायम रहनु, मंसिर महिनाको कामको चटारोले मतदानमा उपस्थित हुन नसक्नु पनि अर्को कारण रहेको छ ।
मतदान प्रतिशत घट्नुमा मतदाताको राजनीतिप्रतिको बितृष्णालाई पनि जिल्लाबासीले कारण मानेका छन् । २०४६ साल यता जिल्लाबासीले पटक–पटक भोट हालेर दर्जनौं नेतालाई जिताएर पठाए पनि जिल्लाको अवस्था भने जस्ताको तस्तै रहेकाले निर्वाचनप्रति मतदाताको विश्वास घटेको स्थानीय बताउँछन् ।
स्थानीय तहको निर्वाचनमा जस्तो प्रत्येक मतदातालाई छुने आयाम नभएका कारण पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मतदाताको उपस्थित कम भएको देखिएको हो । स्थानीय तहको निर्वाचनमा जिल्ला बाहिर बसोबास गरिरहेका अधिकांश मतदाता मत हाल्न आए पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा बाहिरबाट मतदाता कम आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ