प्रतिनिधि सभा सदस्यको लागि बाम गठबन्धन खोटाङका तर्फबाट प्रत्यक्ष उम्मेदवार विशाल भट्टराईले आफ्नो राजनीतिक यात्रा २०३८ सालदेखि नै शुरु गर्नुभएको हो । गाउँकै भगवती उच्च मावि खोटाङबजारमा अखिलको सदस्य बनेर बिद्यार्थी राजनीति शुरु गरेको भट्टराईले ३९ सालमा स्वबियु सदस्यमा निर्बाचित हुँदै गति दिनुभयो । २०२५ साल चैत्र २२ गते साबिकको खोटाङबजार गाबिस हालको खोटेहाङ गाउँपालिका–७ मा जन्मनुभएको भट्टराईले २०४३ सालमा कक्षा दश सम्मको शिक्षा सोही खोटाङबजारबाट पुरा गर्नुभएको थियो ।
भट्टराई उच्च शिक्षाका लागि २०४४ सालमा काठमाडांै पस्नुभयो । काठमाडांैको प्रर्दशनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक तह उतीर्ण गर्नुभएको नेता भट्टराई २०५१ सालमा अर्को क्याम्पस महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्ववियू सभापतिमा निर्बाचित हुनुभयो । २०५३ सालमा कीर्तिपुर क्याम्पसबाट नेपाली साहित्यमा स्नाकोत्तर तह उतीर्ण गर्नुभएको बिशाल २०५४ सालमा अखिलको केन्द्रीय कमिटिको प्रचार विभाग प्रमुखको भूमिकामा रहनुभयो ।
बिद्यार्थी राजनीतिमा सक्रिय विशाल जब २०५५ सालमा गृह जिल्ला खोटाङ फर्कनुभयो तब मूल धारको राजनीतिमा झनै सक्रीय बन्नुभयो । उहाँ २०५५ सालमा नेपाल कम्यूनिष्ट पार्टी एमाले खोटाङको सदस्य हुँदा २०५६ सालको संसदीय निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभयो, तर नेपाली कांग्रेससँग पराजीत बन्नुप¥यो ।
२०६१ सालमा जिल्ला कमिटिको उपसचिव हुँदै २०६३ सालमा सचिव (पार्टी प्रमुख) बन्नुभएको उहाँ २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभयो, पुनः तत्कालिन नेकपा माओवादी हालको माओवादी केन्द्रसँग पराजीत बन्न पुग्नुभयो ।
२०६७ देखि २०७० सम्म जिल्ला अध्यक्ष भएर पुनः पार्टी प्रमुखको बागडोर सम्हाल्नुभएको बिशाल भट्टराईले लगातार दुई निर्वाचनमा पराजीत ब्यहोर्न परे पनि हार भने मान्नुभएन । फलस्वरुप २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै खोटाङ क्षेत्र नम्बर–२ बाट सांसद बन्नुभएको थियो ।
नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य तथा एमाले खोटाङको पार्टी इन्चार्ज भट्टराईले आफ्नो जीतपछि संविधानको कार्यान्वयनसँगै जिल्लाको सड स्तरोन्ती र बिस्तारलाई प्राथमिकतामा राख्ने जनाउनुभएको छ ।
भट्टराईले जिल्लामा निर्माण भएका अन्तर जिल्ला र पालिकाहरु जोड्ने सबै सडकलाई कालोपत्रे गर्ने, कृषिमा ब्यवसायिकीकरण, शिक्षा,स्वास्थ्य क्षेत्रमा सुधार लगायत जिल्लाको विकासमा जोड दिने प्रतिबद्घता जाहेर गर्नुभएको छ । आफ्नो पहलमा शुरु भएको सडक, पुल, स्वास्थ्य संस्था, पर्यटकीय क्षेत्र बिकास आदि कार्यलाई पुरा गर्ने भट्टराईको भनाई छ ।
खोटाङ प्रतिनिधि सभाको लागि एक तथा प्रदेश सभाको लागि दुई निर्बाचन क्षेत्र रहेको जिल्ला हो । दुई नगर र ८ गाउँपालिकास्थित ७९ मतदान केन्द्र रहेको जिल्लामा कूल एक लाख २५ हजार १ सय ८३ मतदाता रहेका छन् ।