
लोकतान्त्रिक गठबन्धन खोटाङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सरस्वती बजिमयको जन्म २०१३ साल फागुन ९ गते ओखलढुङ्गा सदरमुकाममा भएको थियो । आमा नयनदेवि र बुबा मोतिलाल राजभण्डारीको कोखबाट जन्म भएको बजिमयको वाल्य अवस्थादेखि नै पढाईमा तेज थियो ।
२०३५ सालमा बी.ए.उतीर्ण गरी २०३६ सालदेखि राजनीतिमा संलग्न वजिमयको बुबा मोतिलाल पनि राजनीतिज्ञ नै हुनुहुन्थ्यो । नेपाली कांग्रेसका सिपाही मोतिलाल राजभण्डारी २०१७ सालको राजा महेन्द्रको शाही घोषणा पश्चात् २०१९ सालमा सांसद हुदै भूमिसुधार सहायक मन्त्री बन्नुभएको थियो । यसर्थ पारिवारिक पृष्ठभूमिले नै सरस्वतीलाई राजनीतितर्फ डो¥याएको देखिन्छ । नेपाल महिला संघको केन्द्रीय कोषाध्यक्ष, पटक–पटक जिल्ला अध्यक्ष हुनुभएको सरस्वती वजिमय लामो समयदेखि महासमिति सदस्यका साथै २०७० मा सामनुपातिकबाट सांसद पनि बन्नुभयो ।
दिक्तेल निवासी राजनीतिक तथा सामाजिक व्यक्तित्व पर्शुराम वजिमयसंग २०३० मंसिर २७ गते विवाह भएपछि निरन्तर सामाजिक तथा राजनीतिक कार्यमा सक्रिय बजिमय महिला भएर पनि पुरुषको भन्दा ज्यादा जोश, जाँगर र हिम्मतका साथ जिल्लाको विकास निर्माण र समग्र खोटाङे जनताको पक्षमा क्रियाशिल भएको बताउनुहुन्छ । उहाँले बिजयी भएपश्चात महिला सहभागिता, समानता तथा शशक्तीकरणका पक्षलाई जोड दिँदै जिल्लाको भौतिक पूर्बाधार लगायत समग्र बिकासलाई प्राथमिकता दिने बताउनुभएको छ । भ्रष्टचारमूक्त बिकसित जिल्ला निर्माणको परिकल्पना आफुसँग भएको उहाँको दाबी छ । कांग्रेस, एमाले, माओबादी केन्द्र, सङ्घीय समाजबादी फोरम, नयाँ शक्ति, माले, मंगोल नेशलन अर्गानाईजेसन, राप्रपा प्रजातान्त्रिक, राष्ट्रिय जनमुक्ति लगायतबाट बनेको १९ प्रतिस्पर्धीमध्ये सरस्वती एक्ली उम्मेदवार हुनुहुन्छ ।
खोटाङ प्रतिनिधि सभाको लागि एक तथा प्रदेश सभाको लागि दुई निर्बाचन क्षेत्र रहेको जिल्ला हो । दुई नगर र ८ गाउँपालिकास्थित ७९ मतदान केन्द्र रहेको जिल्लामा कूल एक लाख २५ हजार १ सय ८३ मतदाता रहेका छन् । (खोटाङ न्युज डट कमको सहयोगमा)