खोटाङ मंसिर–१९, गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य बीमा गर्ने पुर्वतयारी स्वरुप  खोटाङको लामीडाँडा गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । नागरिक स्वास्थ्य बीमाका लागि मंगलबार गाउँपालिकाको कार्यालयमा स्वास्थ्य बीमाका बिषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
 नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा बिकास समितिले गाउँपालिकासँगको सहकार्यमा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, गाउँपालिकाभित्रका माबिका शिक्षक लगायतलाई सहभागी गराएर अभिमुखीकरण सञ्चालन गरेको हो । अभिमुखीकरणका माध्यमबाट पालिकाबासीलाई स्वास्थ्य बीमा गर्ने विधि र फाईदाका विषयमा जानकारी गराइएको लामीडाँडा गाउँपालिकाकी उपप्रमुख समला राईले बताउनुभयो । 
स्वास्थ्य बीमा गरेपछि विरामी पर्दा वा चोटपटक लाग्दा बीमावापत उपचार खर्च पाउने व्यवस्था छ । वार्षिक रुपमा निश्चित रकम तिरेपछि बिमा कम्पनीबाट निश्चित रकम उपचार खर्च स्वरुप प्राप्त हुने जानकारी दिईएको छ । भैपरी आउने स्वास्थ्य समस्याकाबेलामा सहज उपचार गर्ने वाताबरण निर्माणका लागि स्वास्थ्य बीमा गर्न उत्साहित गर्न अभिमुखीकरण कार्यक्रम राखिएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाको भनाई छ ।