खोटाङ मंसिर–२३, खोटाङमा सम्पन्न प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका विशाल भट्टराई विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार भट्टराईले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका सरस्वति बजिमयलाई १३ हजार ७ सय ६५ ले जित्नु भएको हो । 
भट्टराईले ३५ हजार ३ सय ७७ मत ल्याउनुभएको छ भने, बजिमयले २१ हजार ६ सय १२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल एक लाख २५ हजार मतदाता रहेको जिल्लामा गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा ७१ हजार १ सय ९१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  
२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका भट्टराई एमाले वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २०२५ साल चैत्र २२ गते जन्मनुभएका भट्टराईले २०३८ सालमा अनेरास्ववियु पाँचौंबाट राजनीति सुरु गर्नुभएको थियो । 
२०३९ सालमा सोही विद्यालयमा स्ववियू सदस्य निर्वाचित हुनुभएका भट्टराईले काठमाडौंको रत्नराज्य क्याम्पसबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ ।