खोटाङ मंसिर–२४, प्रदेश तथा प्रतिनिधिसभा सदस्य दुवै निर्बाचनमा बिजयी बनेको बाम गठबन्धन खोटाङले बृहत बिजय जुलुसको तयारी गरेको छ । शनिबार सम्पन्न मत गणनाबाट प्रत्यक्षतर्फको प्रतिनिधि तथा प्रदेश सभा सबैमा बिजय प्राप्त गरेको गठबन्धनले सदरमुकाम दिक्तेलबजारमा बिजयी जुलुसको तयारी गरेको हो ।
वाम गठबन्धन (एमाले)का उम्मेद्वार बिशाल भट्टराई, प्रदेशसभा (क) मा एमालेका उम्मेद्वार राजन राई र प्रदेशसभा (ख) मा माओबादी केन्द्रका उम्मेद्वार रामकुमार राई विजयी हुनुभएकोमा बिजयी जुलुसको तयारी गरिएको जनाईएको छ । 
प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी उम्मेद्वार सरस्वती बजिमयलाई १३ हजार ७ सय ६५ मतले पछि पार्दै वाम गठबन्धनका साझा उम्मेद्वार भट्टराई बिजयी हुनुभएको हो । भट्टराईले ३५ हजार ३ सय ७७ मत र बजिमयले २१ हजार ६ सय १२ मत पाउनुभएको छ । यस्तै, वाम गठबन्धनका उम्मेद्वार राजन १८ हजार ९ सय ३३ मत ल्याएर प्रदेशसभा सदस्यमा बिजयी हुनु भएको हो । निकटतम प्रतिद्वन्द्धी कांग्रेसका उम्मेद्वार सुवासकुमार पोखरेलले १३ हजार ४ सय ११ मत पाउनु भएको छ । 
प्रदेशसभा (ख)मा वाम गठबन्धनका रामकुमारले १८ हजार ३ सय ७२ मत ल्याउँदा कांग्रेसका उम्मेद्वार बिष्णुकुमारले १२ हजार २ सय ३९ मत पाउनु भएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल मतदाता १ लाख २५ हजार १ सय ८ रहेको खोटाङमा ७१ हजार ३ सय ११ मत खसेको थियो ।