खोटाङ मंसिर–२९, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना गरिएको छ । जिल्लाका ६ जना उद्यमीको ठूलो लगानीमा प्लाईउडका कच्चा पदार्थ उत्पादन गर्ने हलेसी भेनियर उद्योग सुरु गरिएको हो ।
एक करोडको लगानीमा सुरु गरिएको भेनियर उद्योग प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य बिशाल भट्टराई र प्रदेशसभाका सदस्य रामकुमार राईले हालै उद्घाटन गर्नुभएको हो । जिल्लाका रबिन सुनुवार, राजेन्द्र राई, सम्बर भुजेल, अनिल जोशी, खगेन्द्र राई र मनोज राईको संयुक्त लगानीमा दुई÷तीन वर्षको अभ्यासपछि हालसम्मकै ठूलो लगानीमा भेनियर उद्योग स्थापना भएको हो । जिल्लामा भएका श्रोतसाधनलाई परिचालन गर्दै उद्यमशिलताको बिकासका लागि प्लाईउडको कच्चा पदार्थ उत्पादक उद्योग सुरु गरिएको सञ्चालक राजेन्द्र राईले बताउनुभयो । सुनसरी, मोरङ, झापा, बनेपा, नेपालगञ्ज लगायतका ठाउँमा निर्यात गर्नेगरी प्लाईउडको कच्चा पदार्थ उत्पादन सुरु गरिएको बताइएको छ । जिल्लामा प्रशस्त मात्रामा उत्तिस र मलातो भएकाले प्लाईउड बनाउने कच्चा पदार्थ उत्पादक उद्योग सुरु गरिएको बताइएको छ । उद्योग स्थापनासँगै निजी जग्गाको उत्तिस र मलातोले मूल्या पाउने वाताबरण बनेको छ ।