खोटाङ पुस–१, खोटाङमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्बाचनमा २६ हजार बढी मत बदर भएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा खसेको मतगणनाको नतिजाअनुसार जिल्लाका २६ हजार ३ सय ५७ मत बदर भएको हो । 
प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ चार हजार ३ सय ५५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो । यस्तै, प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रत्यक्षतर्फ १० हजार ५ सय ४६ मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेकाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ ७१ हजार ३ सय ११ र प्रत्यक्षको समानुपातिकतर्फ ७१ हजार २ सय ५४ मत खसेको थियो । 
मतदाता शिक्षा प्रभावकारी नहुँदा निर्वाचनमा अनपेक्षित मात्रामा मत बदर भएको जिल्लाबासीको भनाई छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा परिणाम सोचेभन्दा बढि मत बदर भएको जिल्लास्थित राजनीतिक दलहरुको अनुमान रहेको छ । 
जिल्लामा प्रदेशसभा (क)को प्रत्यक्षमा ३६ हजार ५ सय ५४ मत खसेकोमा ३४ हजार ७ सय ७३ मत सदर, एक हजार ७ सय ८१ बदर मत रहेको छ । प्रदेशसभा सदस्य (ख)मा ३४ हजार ६ सय ९८ मत खसेकोमा ३० हजार ८ सय ८२ मत सदर र एक हजार ८ सय १६ मत बदर भएको छ । 
एक लाख २५ हजार १ सय ८ मतदाता रहेको खोटाङमा ७१ हजार ३ सय ११ मत खसेको थियो । प्रदेशसभा (क) र (ख) मा समानुपातिकतर्फ ७ हजार ८ सय ५९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । जिल्लामा सबैभन्दा बढी समानुपातिकतर्फ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।