खोटाङ पुस–४, बाम गठबन्धन खोटाङबाट बिजयी प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुलाई आफ्नै भातृ संगठनका पत्रकारहरुले प्रतिपक्षी भूमिकामा उभिने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर जिल्ला शाखाले मंगलबार संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा गठबन्धन निकट पत्रकारहरुले यस्तो बताएका हुन् । 
जिल्ला सदरमुकाम दिक्तेलबजारमा आयोजना गरिएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिशाल भट्टराई तथा प्रदेश सभातर्फका सदस्यद्वय राजन राई र रामकुमार राई(पासाङ)लाई बधाई दिँदै आफुहरु पार्टीको भन्दा पनि जिल्लाको समृद्घिको पक्षमा लाग्ने बताएका हुन् । कार्यक्रममा बोल्दै प्रेस सेन्टरका केन्द्रीय सदस्य भीम राईले अफ्नो भातृ संगठनमा आबद्घ पत्रकारहरु सँधै पार्टी र नेताकै पक्षमा लाग्छन् भन्ने नबुझ्न चेतावनी दिनुभएको छ । केन्दीय सदस्य राईले आफुले आस्था राख्ने पार्टी तथा नेता भनेर भन्दा पनि जिल्लाको हीतमा काम गर्ने नेता र नगर्ने नेता भनेर सदैब पिछा गर्ने जनाउनुभयो । गठबन्धनका बिजयी प्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै आफु निकट पत्रकारहरु प्रतिपक्षमा छन् भन्ने बुझ्न अनुरोध समेत गर्नुभयो । 
पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई, प्रेस चौतारीका केन्द्रीय सदस्य हरिबोल राई, पत्रकार डम्बरसिं राई लगायतले कार्यक्रममा शुभकामना ब्यक्त गर्दै जिल्लाको सञ्चार क्षेत्रलाई मज्बुद बनाउनतर्फ अग्रसर बन्न आग्रह गर्नुभयो । कार्यक्रमका बक्ताहरुले अबका जनप्रतिनिधिले जिल्लामा ठूला तथा महत्वकांक्षी भन्दा पनि सानै लाग्ने तर स्थानीय स्तरमा अति महत्व बोक्ने प्रकारका बिकासे योजनामा जोड दिनुपर्ने धारणा राखेका थिए । 
यसैबीच, बिकासका रंग भर्दै जिल्लाको सम्बृद्धिमा काम गर्नका लागि आव्हान स्वरुप प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई खोटाङको सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र हस्तान्तरण गरेका छन् । खोटाङको भौतिक, आर्थिक र सामाजिक परिवर्तनको रंग भर्नका लागि प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित उम्मेद्वारलाई जिल्लाको सादा नक्सा प्रदान गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष सुर्य तामाङले बताउनुभयो । 
सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र बुझ्दै जनप्रतिनिधिले जिल्लाको सम्वृद्धिको रंग भर्ने अवसरलाई सदुपयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रमुख अतिथि बिशाल भट्टराई तथा बिशेष अतिथिद्वय राजन राई र रामकुमार राई(पासाङ)ले जिल्लाको सञ्चार माध्यम र सञ्चारकर्मीको साझा हीतमा सञ्चारकर्मीसँगकै सुझाब बमोजिम अगाडी बढ्ने प्रतिबद्घता जनाएका छन् ।