
खोटाङ पुस–५, खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले शुरु गरेको ‘पुरानो फोहर हटाउ अभियान’मा उल्लासमय लस्कर लागेको छ । ‘सुन्दर, सफा र स्वच्छ’ नगर निर्माणका लागि नगरपालिकाले बुधबारदेखि शुरु गरेको ‘पुरानो फोहर हटाउ’ अभियानमा जनप्रतिनिधि लगायत नगरबासीको बृहत लस्कर लागेको हो ।
पुरानो फोहर हटाउने उदेश्य सहित शुरु गरिएको सप्ताहब्यापी सरसफाई अभियानमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभाका सदस्यद्वय राजन राई, रामकुमार राई लगायत सरोकारवालाको बिशाल सहभागिता रहेको थियो ।
पुरानो फोहोर हटाउनका लागि नगरपालिकाले चलाएको अभियानमा राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक समाज, शिक्षक, बिद्यार्थी, पत्रकार, खेलाडी ,नेपाली सेना, शसस्त्र, नेपाल प्रहरी, म्यादी प्रहरी, स्थानीय व्यवसायी,स्थानीय लगायतको उत्साहपूर्ण सहभागीता रहेको हो । नगरपालिकाले स्थानीय संघसंस्था, उद्योगी, व्यवसायी, शिक्षण संस्था लगायतको सहयोगमा पुरानो फोहोर हटाउन अभियान थालेको हो । हप्ता दिनकाबीचमा करिब एक हजार ट्याक्टर फोहोर उठाएर ल्याण्डफिलसाईटमा लैजाने नगरपालिकाले जनाएको छ ।
सरसफाई सप्ताहका क्रममा वर्षौदेखि थुप्रिएको पुरानो फोहोरलाई हटाएर सरसफाईका नियमित कामलाई निरन्तररुपमा सञ्चालनका लागि एक हप्तासम्म सरसफाई अभियान चलाइने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।