खोटाङ  पुस–९, खोटाङ र पुर्वी शहर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज राखिएपछि खोटाङ र पुर्बी शहर सिधा यातायात शुरु भएको छ । आर्थिक वर्ष २०५१÷०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज जडान गरिएसँगै शनिबारदेखि जिल्लाबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने सिधा बाटो खुलेको छ ।
 पानीको बहाव बढ्न थालेपछि गत जेठमा निकालिएको बेलिब्रिज पानीको बहाव घटेपछि दुई हप्तादेखि पुःन राख्ने काम थालिएको थियो । फोक्सिङटारमा पक्की पुल अभावमा वर्षौँदेखि बेलिब्रिज राख्ने गरिएको छ । 
फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि ६ महिनाका लागि खोटाङ र पुर्वी शहर जोड्ने द्धार खुलेको छ । हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा ५० मिटर लम्बाई र ५ मिटर चौडाई भएको बेलिब्रिज जडान गरिएको हो । फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरेपछि सदरमुकाम दिक्तेलबाट गाईघाटसम्म सिधा यातायात सेवा सञ्चालन सुरु भएको छ ।