खोटाङ  पुस–१०, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीमा चाम्लिङ भाषामा हाजिरी जवाफ प्रतियोगीता गर्ने तयारी गरिएको छ । चाम्लिङ राईको भाषा संरक्षण, संबृद्धि र बिकासका लागि महेन्द्रोद्वय माबि महादेवस्थानमा चाम्लिङ भाषामा हाजिरी जवाफ प्रतियोगीता गर्ने तयारी गरिएको हो । चाम्लिङ राई भाषाको संमृद्धिका लागि प्रकाशन हुँदै आएको सितिमी मासिक पत्रिकाको तेश्रो वार्षिक स्थापना दिवसको अवशरमा पुस १५ गते हाजिरीजवाफ प्रतियोगीता गर्ने निर्णय गरिएको पत्रिकाका सम्पादक तिलक चाम्लिङले बताए । 
चाम्लिङ राईको सघन बसोबास रहेको नगरपालिकाका विद्यालयका कक्षा ८ सम्मका छात्र÷छात्रालाई सहभागी गराएर हाजिरी जवाफ प्रतियोगीता गर्न लागिएको हो । विभिन्न भाषाभाषीको संरक्षण र संबद्र्धनका लागि नगरपालिकाले विभिन्न निती तथा कार्यक्रम ल्याएपछि सितिमी मासिक पत्रिकाले पनि चाम्लिङ भाषामा हाजिरीजवाफ प्रतियोगीता गर्न लागेको हो । प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने समुहलाई क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने प्रतियोगीताका संयोजक रकम रोदुङले बताए । 
हाजिरी जवाफ प्रतियोगीताका विजेता समुहलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बोहेम्मामा सञ्चालन हुने सितिमी गोल्डकपको उद्घाटनको अवशरमा माघ १ गते प्रदान गरिने आयोजनकले जनाएको छ । प्रतियोगीताका लागि जुनसुकै समुदाय र जातिका विद्ययार्थीले सहभागी जनाउन पाउने जनाइएको छ ।