
पुस–१३, खोटाङका कलाकारले कला, संस्कृति, संगीत तथा साहित्यको प्रवद्र्धन एबं संरक्षणका लागि नवनिर्वाचित जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् ।
खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई र रामकुमार राईलाई कान्तिपुर फिल्म एकेडेमी मैतिदेवी काठ्माण्डौंमा बुधबार बधाई तथा अन्तरक्रीया कार्यक्रममा कलाकारले जिल्लाको कला, संस्कृति, संगीत र साहित्यको प्रवद्र्धनमा ध्यानाकर्षण गराएका हुन् ।
राजधानीमा बसेर कलाकारितामा संलग्न कलाकारले कलाकारिताको प्रवद्र्धनमा कसैको चासो पुग्न नसकेको भन्दै खोटाङमा हरेक बर्ष राष्ट्रिस्तरको खोटाङ हलेसी महोत्सव आयोजना गर्न, नाटक, लघु नाटक मञ्चन, साहित्यिक भेला गर्नका लागि सांस्कृतिक भवन बनाउन एबं संग्रहालय, स्रष्टाहरुको प्रतिमा र मौलिक होम स्टे सहितको नमुना गाउँ निर्माणका लागि जनप्रतिनिधिको हातमा लिखित मागपत्र थमाएका छन् । भिमबहादुर थापा, लक्ष्मी गिरी, जसराज किराती, नवल खड्का, महेस खड्का लगायत १० श्रष्टा तथा कलाकारको संयुक्त हस्ताक्षर भएको माग–पत्र कार्यक्रमकैबीचमा नवनिर्वाचित जनप्रतिनिधिलाई हस्तान्तरण गरिएको कार्यक्रमको संयोजन गरेका कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले बताए ।
जनप्रतिनिधिलाई कलाकार नवल खड्का, महेश खड्का, खगेन्द्र राई र पुरीले माग–पत्र बुझाएका हुन् । कार्यक्रममा नयाँ र पूरानो गरी दुई दर्जन कलाकारको जमघट भएको थियो ।