खोटाङ १७ पुस
अदालतबाट बोक्सी सम्बन्धी कसुरमा अघि बढाउनुपर्ने मुद्धा प्रहरी कार्यालयले जालसाँझी गरी सिडिओ कार्यालय पठाएपछि उचित न्याय नपाएको भन्दै जिल्लाको साकेला गाउँपालिका १ का पीडित पक्षले वर्ष दिन अघि मानव अधिकार आयोगमा उजुरी दिएपनि आयोगमा भने उक्त मुद्धा ओझेलमा परेको पाइएको छ ।

मानव अधिकार आयोगले घटनाबारे घटनास्थलमा पुगेर अध्ययन गर्नका साथै पीडित, पीडक र प्रहरीसँग पनि बयान लिएर फायल केन्द्रसम्म पठाएको पाइएको छ । तर, मानव अधिकार आयोग केन्द्रीय कार्यालयले घटनाकाे पछिल्लो अवस्था के छ भनि पठाएको पत्रको उत्तर पठाउन भने क्षेत्रीय कार्यालय दिक्तेलले ढिलाई गरेको पाइएको हो ।

आयोग कार्यालय दिक्तेलका प्रमुख मोहनदेव जोशीले उक्त मुद्धाको विषयमा थुप्रै काम भईरहेको र एक पटक केन्द्रमा समेत पठाएको तर पुनः पछिल्लो अवस्थाबारे लेखि पठाउन आग्रह भएकाले सो बारे बुझेर पठाउने तयारी भईरहेको बताए । मानव अधिकार आयोग केन्द्रिय कार्यालयले भने जिल्लाबाट पछिल्लो अवस्थाबारेको जानकारी आउनसाथ फैसला प्रक्रिया अघि बढ्ने जनाएको छ ।

नियमत सामान्य प्रकृतिका घटनाको मुद्धा ६ महिनाभित्र फछ्यौट गरिसक्नुपर्ने प्रावधान भएपनि वर्ष दिनसम्म उक्त मुद्धा आयोगबाट किनारा लाग्न सकेको छैन ।

२०७३ जेठ १२ गते नाबालक छोरो नबोलेको निहुँमा साकेला गाउँपालिका १ सेखुवाकी एक ७२ वर्षिया वृद्धामाथि निर्घात कुटपिट भएको थियो । त्यसलगत्तै पीडित पक्षले प्रहरीमा उजुरी जाहेर गरेपनि प्रहरीले भने बोक्सी सम्बन्धी कसुरमा मुद्धा नचलाई सामान्य कुटपिटको घटना भन्दै सिडिओ कार्यालयमार्फत मुद्धा चलाएको थियो ।

पीडित पक्षले भने प्रहरी प्रशासनले जाहेरीमा रहेको बोक्सी सम्बन्धी ब्यहोरा समेत केरमेट गरी जालसाँझी गरेर मुद्धालाई सामान्य कुटपिट प्रकृटिको बनाएर चलाएको आरोप लगाएका छन् । पीडित पक्षले तत्कालिन डिएसपी विद्यानन्द माझी र मुद्धा फाँट प्रमुख मनोज यादवलाई कारबाही र उचित क्षतिपुर्ति माग समेत गरेर आयोमा मुद्धा दायर गरेका थिए ।

उक्त मुद्धाको फैसला भने गत २० मंसिरमा सिडिओ कार्यालयले गरेको छ । सिडिओ एकदेव अधिकारीका अनुसार कुटपिटमा संलग्न धनगञ्ज राई दम्पत्तिलाई १०/१० हजार जरिवाना गरिएको छ ।
पीडित पक्षले भने आफूहरुले क्षतिपूर्ति र उचित न्याय नपाएको गुनासो गर्दै आएका छन् ।