
खोटाङ पुस–२१, खोटाङस्थित हलेसीका आगलागी पीडितका लागि राहत संकलन सुरु गरिएको छ । मंगलबार राती भएको आगलागीमा घर तथा सम्पति गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राई लगायतका व्यवसायीको सहयोगार्थ सोही नगरपालिकाद्वारा राहत संकलन अभियान सुरु गरिएको हो ।
हलेसी बजारबाट बुधबार ३ लाख रकम संकलन गरिएको मेयर इवन राईले बताउनुभयो । नगरपालिकाका प्रमुख स्थानमा राहत संकलन अभियान चलाइने छ । आगलागी पीडितको सहयोगार्थ राहत संकलनका लागि काठ्माण्डौंमा पनि दिनेश राईको संयोकत्वमा ७ सदस्यीय ‘अग्नि पिडित राहत संकलन समिति’ गठन गरिएको छ । मगम राईको घरबाट सुरु भएको आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।