
खोटाङ पुस–२३, रक्षामन्त्री भिमसेनदास प्रधानले अब बन्ने सरकारलाई प्रतिपक्षमै बसेर भए पनि सकरात्मक सोंचका साथ सघाउ पु¥याउने बताउनुभएको छ । नेपाली कांग्रेसका तर्फबाट मन्त्री बन्नुभएको प्रधानले आईतबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताउनुभएको हो ।
संसदीय व्यवस्थामा बिस्वास नगर्ने पार्टीलाई लोकतन्त्रको बाटोमा ल्याउन सफल भएको भन्दै मन्त्री प्रधानले कांग्रेस पार्टी हारे पनि लोकतन्त्रले जितेकोमा सबैले ठूलो उपलब्धी मान्नुपर्ने उल्लेख गर्नुभयो । कांग्रेस पार्टी कार्यालयमा जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाटपछि आयोजना गरिएको पत्रकार भेटघाटमा छोटो सम्बोधन गर्दै रक्षामन्त्रीले दुई महाशक्तिसँग चुनाबमा उत्रनु परेकोले स्वभाबिक हार कांग्रेसले ब्यहोरेको बताउनुभयो ।
अव बन्ने सरकारले मुलुकलाई शुसासन, सम्बृद्घि दिँदै भ्रष्टाचारलाई न्यूनिकरण गरोस् भन्ने चाहना भएकाले प्रतिपक्षमा रहेर नकरात्मक भन्दा सकरात्मक सोंच लिएर सरकारलाई सघाउने उहाँको स्पष्टोक्ति थियो । नेपाल प्रेस युनियन खोटाङले आयोजना गरेको भेटघाट कार्यक्रममा आफ्नो पार्टीले खोजेको लोकतन्त्रको बाटो बिचलन हुन नदिनेमा सजक रहेको जनाउँदै अबको सरकारबाट प्रेस स्वतन्त्रता, मानव अधिकार, सुसासनमा आँच आउन नदिने रक्षामन्त्री प्रधानको भनाई थियो ।
समाबेशी, समानुपातिक, अद्यावधिक चुनाव, विधिको शासन, स्वतन्त्र न्यायलय जस्ता पक्षमा तलमाथि हुने अवस्थो आएमा हिजोको राणा शासन, पञ्चायत र राजतन्त्रको विरुद्धमा लडेजस्तै लड्न तयार रहने समेत मन्त्रीको चेतावनी थियो ।
यसैबीच, खोटाङको हलेसीमा गत १८ गते राती सवा ५ करोड बराबरको धनमाल क्षति हुने गरी भएको आगलागीको निरीक्षण समेत गर्नुभएको रक्षामन्त्रीले पीडितलाई सहयोग उपलब्ध गराउने बताउनुभएको छ । शनिबार हलेसी आईपुग्नुभएको रक्षामन्त्री प्रधानले घट्नास्थलबाटै सेनाका उच्च अधिकारीलाई फोन गरेर आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको छ । आगलागीमा घर सहित सर्वस्व गुमाएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदिस दास लगायतका पीडित अस्थायी टहरामा कष्टपूर्ण समय विताइरहेका छन् ।