अम्बिका दाहाल/खोटाङ
पुस–२६, मेनपावर कम्पनीले भने अनुसारको काम र तलब नपाए पछि कतारबाट फर्केका खोटाङका दुई युवाले लागत रकम फिर्ता पाएका छन् । नेपालमा भनिए अनुसार काम र दाम नपाउँदा घर फर्केका रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्ले डाडाँछापका राजेन्द्र खड्का र कर्ण खड्काले वैदेशिक रोजगारीमा जाँदा लागेको रकम जनही ७० हजारका दरले मेनपावर कम्पनीबाट फिर्ता पाएका हुन् ।
१० महिना अघि कतारको स्नो ह्वाईट कम्पनीमा कारवासको काममा भनेर पठाइएका खड्काद्वयले त्यहाँ पुगेपछि जे आइपर्छ सोही काम गर्न बाध्य बनेका थिए । सोही बमोजिम काम गर्दा पनि ९ महिना सम्म २ महिनाको मात्र तलव पाएपछि दुवै जना गत मंसिरमा नेपाल फर्कनुभएको थियो ।
नेपाल फर्केपछि जव लिंक मेनपावार कम्पनीलाई आफूहरुलाई पठाउँदा तिरेको रकम फिर्ता गरिदिन आग्रह गरेका थिए । सुरुमा मेनपावर कम्पनीले रकम फिर्ता गर्न आलटाल गरेपछि सदरमुकाम दिक्तेलस्थित सुरक्षित आप्रवासन, सुचना तथा परामर्श केन्द्रमा रकम फिर्ता गराइदिन निवेदन दिएका थिए । मेनपावर कम्पनीले रकम तिरेको कुनै भर्पाई नभए पनि आइएमई मार्फत रकम पठाएको भौचरका आधारमा सुचना केन्द्रले रकम फिर्ता गराउन पहल गरेको थियो ।