
लिला निरौला/खोटाङ
पुस–२८, कतारमा पैसा कमाएर फर्केपछि गाउँको दुःख छल्नलाई मधेशतिर बसाई सर्नुपर्छ भन्दै श्रीमती कुमारी पौडेललाई मिठो आशा देखाउने चुडामणी पौडेल कतार पुगेको २ महिनामा एक्कासी कतारमा बिरामी परे । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का पौडेल कतारमा एक्कासी बिरामी भएपछि कतारमै रहेका आफन्तहरुले नेपाल फर्काईदिए ।
काठमाण्डौमा भएको चिनजानको एजेण्टमार्फत म्यानपावर कम्पनीमा ७५ हजार बुझाएर २०६९ मा कतार गएको पौडेलले क्लिनरको काम गर्नुप¥थ्यो । मासिक १८ हजार कमाई हुने भन्दै छिटै ऋण तिरिसक्ने र अरु कमाई गर्ने भन्दै श्रीमतिलाई सपना सुनाउँने चुडाले मधेसमा झरेर बालबच्चालाई राम्ररी पढाउने योजना पनि बनाएका थिए ।
तर सबै सपना चक्नाचुर बन्यो । उनी कतारबाट न सामान्य भन्न मिल्ने न जटिल भन्न मिल्ने मानसिक सन्तुलन गुमाएको जस्तो ब्यवहार देखाउने भएर फर्किए ।
आफ्ना तीन छोराछोरीकै भबिश्यको लागि विदेशिएका उनी फर्केपछि छोराछोरी काखमा गएर बस्दा रिसाउने, झर्किने, घाम अस्ताउन थालेपछि घर छाडेर हिड्ने, विष किनेर खान्छु भन्ने जस्ता अस्वभाबिक ब्यवहार देखाउने श्रीमति कुमारी बताउनुहुन्छ । घरमा बस्न पटक्कै मन नगर्ने भएर फर्किएका उनी कतारबाट फर्केपछि जम्मा पाँच दिन घर बसे ।
६ दिनको रात २०६९ साउनमा सुतेको बेला घर छाडेर हिँडेका उनी कहाँ गए भन्ने अहिले सम्म नि थाहा हुन सकेको छैन । उनको खोजीका लागि प्रहरीलाई पनि खबर गरिएको श्रीमति बताउनुहुन्छ । अनेक पहल गर्दा पनि कतै नभेटिएको चुडामणीलाई पर्खंदा–पर्खंदै उनकी आमाको दुई बर्ष अघि मृत्यु भयो । छोराछोरी ठूलाठूला भईसके तर त्यो रातदेखि चुडामणी कता गए अझै पत्ता लागेन ।
छोरा गोपीकृष्ण र श्रीकृष्ण तथा छोरी पवित्राको आडभरोसामा जीवन हाँकिरहेकी श्रीमति कुमारीको श्रीमान फर्केर आउने झिनोे आशा त अड्किएकै छ । ‘कुनै दिन घर फर्केर आउछन् की भन्ने आश त मरेको छैन ।’ श्रीमान कतार जाँदा लिएको ऋण बढिरहेको बताउनुहुने कुमारी फेरि मन मार्नुहुहन्छ –‘खोज्न नि कहाँ जानु र अव त ! ’
घरको एक भाई मात्र छोरा चुडामणी जन्मनु साथै उनको वुवाको भने मृत्यु भएको थियो ।