
खोटाङ पुस–२९, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा स्वास्थ्य बिमायुक्त वडा घोषणाका लागि अभियान थालिएको छ । जिल्लामा बिमितको स्वास्थ्य बिमाका लागि नाम दर्ता एबं परिचयपत्र बितरण शुरु गरिए लगत्तै बुइपा वडा कार्यालयले आफ्नो वडालाई बिमायुक्त वडा घोषणाका लागि अभियान थालेको हो ।
वडालाई नगरकै प्रथम स्वास्थ्य बिमायुक्त वडा बनाउने लक्ष्यका साथ बिमितको स्वास्थ्य बीमाका लागि नाम दर्ता एबं परिचयपत्र बितरण सुरु गरिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो ।
सुरुमा वडाका जनप्रतिनिधि, दलका नेता तथा कार्यकर्ता, कर्मचारी, शिक्षक, संघसंस्थामा आवद्ध व्यक्ती लगायतबाट स्वास्थ्य बीमा गराएर क्रमशः अन्य वडाबासीलाई स्वास्थ्य बिमा दर्ताका लागि प्रोत्साहित गरिने वडा कार्यालयले जनाएको छ । जिल्लामा पुस २४ गतेदेखि स्वास्थ्य बीमा सदस्यता दर्ताका काम सुरु गरिएको हो ।