

माघ–२, परम्परागत ढंगले गरिएको किराती बिहेमा जन्ती पक्ष र बेहुली पक्षका युवायुवतीहरुको रमाईलो भेटघाट हुन्छ । घरभित्र रहेका दुवै पक्षका लमी (कलिया) लगायतका बुढापाकाहरुले बिहेमा गर्नुपर्ने किराती संस्कारअनुसारको रिति–बिधि पूरा गर्नमा ब्यस्त भईरहेका हुन्छन् ।
यता बाहिर भने बेहुला पक्षबाट जन्ती गएका सोल्टी तथा बेहुली पक्षका सोल्टिनीहरुको नाचगान शुरु हुन्छ । तीनै बीचमा एक जोडी सोल्टी–सोल्टिनीको भने मौन रुपमा पिरतीको नजर हानाहान हुन थाल्छ । यति सम्म गहिरो मायाँ बस्छ की ती दुई बीचमा कसैले पत्तै नपाई सुटुक्कै रुमाल साटासाट समेत हुन्छ ।
सबै रिति–बिधि सकिएपछि संस्कार अनुरुप नै दाजुहरुले बहिनी तथा ज्वाईंलाई बोकेर डोली थााप्न लगाई जन्ती अन्माईन्छ ।
केही समयअघिसम्मको रमाईलो आँगनमा एकाएक स्वभाबिक नरमाईले दृश्य देखिन्छ । बालापनदेखि हुर्केको काख, खेलेको आँगन तथा साथीसंगी लगायत सबै–सबै छुटाएर पठाउनुपर्दा र पराईघर जानुपर्दाको नमिठो अनुभूति जोकोहीले गर्छन । तर बेहुला पक्ष भने ठूलै बाजी मारेको जस्तै जीतको मुद्रामा विदावारी हुन्छन् ।
जन्ति फर्कने क्रममा बेहुलाको चेलीले बाटो छेक्ने रीत (किराती चेलीहरुले माईतीको बिहे हुँदा सम्मान स्वरुप राखिदिने जाँड, रक्सी सहतिको परिकार) राखिदिन्छ । सोही बमोजिम माईति पक्षले गर्नुपर्ने शीर उभ्याउनीको बिधि भईरहेको हुन्छ । यता, जन्ति जाँदा साटिएको रुमालभरि सोल्टिनीको मुहार र चोखो मायाँ देख्ने सोल्टी भने सोही रुमालको ओल्टाई–पल्टाई हेरिरहन्छ । हेर्दा लाग्छ की अब साँच्चै उनिहरुको रुमालमा साटिएको मायाँ घरजमको तरखरमा हुनेछ ।
यीनै दृश्यको परिधिभित्र रहेको संगीत पारखी युवा पदम थुलुङ राईको पुर्बेली झर्रो लोक जुहारी ‘मायाँ छ रुमालैमा’ गीति भिडियो सार्वजनिक भएको छ । पुर्बमा सर्बाधिक रुचाईएको लोपोन्मुख भाकामा आधारित जुहारी ‘मायाँ छ रुमालैमा’को गीति भिडियो माघे संक्रान्ती तथा येले दोङ–५०७८ को अवसर पारेर यूटुवमार्फत सार्वजनिक गरिएको हो ।
सङ्स नेपाल मार्फत सार्वजनिक गरिएको लोक जुहारी भाकाको भिडियोमा स्वयं गायक तथा संगीतकार थुलुङ र गायिका सरला राईको स्वर सजिएको छ ।
६ मिनेट लामो लोकजुहारीमा खासगरी पुर्वका किरात समुदायमा गाउने लोपोन्मुख भाका समेटिएको थुलुङको भनाई छ । गीति भिडियोमा सितोरियो करातेकी अन्तराष्ट्रिय रेफ्री समेत रहेकी मोडल शेसुका राई, पवन राई, निर्मला पुलामी, वशन्त राई, दिनेश राई, रेनुका राई लगायतको अभिनय देख्न सकिन्छ ।
गणेशकुमार राईको शव्द र अनिल थुलुङको नृत्य निर्देशन रहेको लोकजुहारीको भिडियोको निर्देशन युवराज राईले गरेका हुन् । किरात मौलिक बस्तीमा भएको बिहेमा एक जोडी प्रेमको चोखो तथा मौन बार्तालापको दृश्य देखिने भिडियो खोटाङकै लामिडाँडा गाउँपालिकाको चिउरीबासमा उतारिएको हो ।
वशन्त राई र दिनेश राईले निर्माण गरेको गीतको भिडियोमा विहेका क्रममा हुने विभिन्न रितलाई सांगीतिक रुपमा चित्रण गरिएको छ । गाउँघरका बुढापाकासँगै लोपोन्मुख बनिसकेको सो लोकभाका विशेषगरी गाउँघरमा एकादसी लगायतका मेला हाटबजार तथा विहेबारी, छेवर लगायतका शुभ कार्यमा पाहुनासँग छुट्टिने बेलामा गाउने गरिन्छ ।
ब्यवसायिकताका लागि मात्र नभएर सदियौंदेखि बसोबास गर्ने बाजेबराजुले गाएको गीत संरक्षणका लागि पनि भिडियो निर्माण गर्न कर्तब्य ठानिएको थुलुङले बताउनुभयो । ईलाहावादबाट संगीतमा बिम्यूज थुलुङ पछिल्लो समय मौलिक भाकाहरुलाई संग्रहित गर्ने अभियानमा लागी पर्नुभएको छ ।
२०६८ सालदेखि व्यवसायीक संगीतमा समर्पित थुलुङले दर्जनौं गीत बजारमा ल्याइृसक्नुभएको छ । सरदरका बजार भन्दा पनि साँस्कृतिक धारबाट ब्यवसायिकता समाउन रुचाउनुहुने गायक तथा संगीतकार थुलुङ संगीतमा संख्यात्मक भन्दा पनि गुणात्मक हिसाबले अघि बढ्नुपर्ने जनाउनुहुन्छ ।