
खोटाङ, माघ–८, नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीलाई शुद्धिकरण र सुदृढिकरण गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको छ । धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा सोमबार बसेको खोटाङ लगायतका १८ जिल्लाका सभापतिहरुको भेलाले भर्खरै सम्पन्न निर्वाचनमा पार्टीले पराजय बेहोर्नुको मूल कारण नेतृत्वको कमजोरी रहेको ठहर गर्दै पार्टीलाई तत्काल सुद्धिकरण र सुदृढिकरण गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
निर्वाचनको समिक्षा, भावी रणनीति निर्माण, निर्वाचनमा पार्टी पराजय हुनुको कारण लगायतका विषयमा छलफल गर्न हलेसीस्थित जाम्बाला रिसोर्टमा बसेको जिल्ला सभापतिहरुको भेलाले पार्टीको विद्यान पनि परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको छ । देश सङ्घीय संरचनामा गइसकेकाले सोही अनुरुपको विद्यान निर्माण गर्नुपर्ने भएकाले परिमार्जनका लागि समिति समेत गठन गरिएको नुवाकोट जिल्ला सभापति जगदिसनरसिं केसीले बताउनुभयो ।
कांग्रेसका अनुसार विधान परिमार्जन गर्नका लागि काठमाडौं जिल्ला सभापति मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति निर्माण गरिएको जनाइएको छ । विधान परिमार्जन समितिको सदस्यमा कालिकोट जिल्ला सभापति हर्कबहादुर बम, पाँचथर सभापति नरेन्द्र केरुङ, सिन्धुली सभापति उज्जल बराल र धादिङ सभापति रमेश धमला रहनुभएको छ ।
३२ जिल्लाका सभापतिहरुको उपस्थिति रहेको भेलाले जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला तत्काल तोक्न नेतृत्वलाई दबाब दिने पनि निर्णय गरेको छ । उनीहरुले सभापतिहरुको राष्ट्रिय भेला नुवाकोटमा गर्ने पनि निर्णय गरेको छ ।