
खोटाङ माघ–१३, बिश्वमै पहिलो पटक निर्माण हुँदै गरेको ऐतिहासिक किरात राई संग्रहालयको लागि निशंकोच सहयोग गर्न किरात राई यायोक्खा जिल्ला कार्य समिति काठमाण्डौंले अपिल गरेको छ । समितिको शनिबार बसेको बैठकले विश्वमा छरिएर रहेको किरात राई तथा अन्य समुदायको गन्तब्य स्थलको रुपमा स्थापित गर्न लागिएको खोटाङस्थित ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माणधिन संग्रहालयको लागि सहयोगमा जुट्ने निर्णय गरेको हो ।
किरात राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीप जस्ता बहुमुल्य सम्पदालाई संकलन र संरक्षण गर्ने कार्य आफैमा महान र ऐतिहासिक भएको समितिको अध्यक्ष दिलिप रुङमाहाङ बान्तवाले बताउनुभयो । किरात राई लेखक संघको कार्यबाहक अध्यक्ष समेत रहनुभएको संग्रहालय निर्माण समिति संयोजक खुक्सङ खम्बु स्वयम समेत यस कार्यमा दिलोज्यान दिएर लागेको भन्दै यस कायप्रति सबै किरात राई समुदायले दायित्वबोध गर्नुपर्ने अध्यक्ष बान्तवाको भनाई छ ।
संग्रहालयको बिकास गरी किरात अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र पर्यटनमा समेत टेवा पु¥याउने गरी दीर्घकालिन योजना सहित निर्माण शुरु गरिएको संग्रहालयको लागि देशबिदेशमा रहेका किरात संस्कृतिप्रेमी तथा सामाजिक संघसंस्थाहरु सहयोगमा जुटिरहेको निर्माण समिति संयोजक खम्बुको भनाई छ ।
तीन बर्षमा सम्पन्न गर्ने गरी गत बर्षदेखि किरातीहरुको ऐतिहासिक संग्रहालय निर्माण अभियान शुरु गरिएको थियो । संग्रह निर्माणका लागि २ करोड रुपैंयाँ बराबरको बृहत योजना बनाईएकोमा यो बर्ष ५५ लाख रुपैंयाँ लागतमा संग्रहालयको एक तला निर्माण सम्पन्न गर्ने तयारी गरिएको छ ।
संग्रहालय भवन निर्माणका लागि वडाबाट ५ लाख रुपैंयाँ बजेट यो बर्ष बिनियोजन गरिएको छ । संग्रहालय निर्माण कार्यलाई महाभियानको रुपमा लिनुपर्ने भन्दै दाताहरुले स्वस्फुर्त रुपमा बोलकबुल समेत गरिरहेको निर्माण समितिले जनाएको छ ।
‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती कथन अनुरुप किरातीहरुको मौलिक इतिहास, संस्कार, चालचलनलाई केन्द्रीत गर्दै निर्माण गरिने संग्रहालयको लागि सबै प्रकारको सहयोग सबै पक्षबाट आवश्यक रहेको संयोजक खम्बुको भनाई छ ।
दश किरातको प्रतीक स्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई स्रग्रहालय निर्माण गरिने योजना छ । तीन तले गोलाकार भवनको धुरीमा मेटलबाट निर्मित चिण्डोको बर्निङ गजुर राख्ने तथा किराती बास्तुकलाले भरपुर सजाइने छ । संग्रहालय भवन पूर्णतः भूकम्प प्रतिरोधात्मक बनाउने टुंगो लागेको बताइएको छ ।
थुलङ राईहरुले आवाद गरेको जिल्लाको सुदुर उत्तर–पुर्वी दिशामा अवस्थित किराती ऐतिहासिक थलोमा संग्रहालय निर्माण गर्ने अवधारणा किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति रिब्दुङ महेश्वरीले बनाएको थियो । थुलुङ राईहरुको भाषा, संस्कृति अझै पनि ज्यूँको त्यूँ रहेको रिब्दुङका प्रारम्भिक कार्य समितिले यायोक्खा जिल्ला र केन्द्रसँगको समन्वय र सहयोगमा संग्रहालय निर्माण प्रक्रिया प्रारम्भ गरेको निर्माण समितिले जनाएको छ ।
संग्रहालयको बृहत अवधारणा सँगै स्थानीय दाता शम्शेरजंग राई, मानबहादुर राई र पूर्णबहादुर राईले ८ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभयो । किरात राई यायोक्खाको नाममा दर्ता गराईएको उक्त जग्गा ऐतिहासिक, साँस्कृतिक तथा भौगोलिक हिसाबले समेत अत्यन्तै आकर्षक रहेको जनाईएको छ । जग्गा खरिद तथा निःशुल्क माग गरी संग्रहालयको क्षेत्रफल कम्तिमा ५० रोपनी बनाउने योजना छ ।
करिब २ करोडको लागतमा ३ बर्षमा निर्माण सम्पन्न गर्ने योजना अन्र्तगत हाल एक बर्ष बित्दा घडेरी सम्याउने, निर्माणस्थलमा गिटी–बालुवाको ब्यवस्था, काठ काट्ने लगायतका कार्य सम्पन्न भईसकेको छ । पछिल्लो समय आर्थिक स्रोत जुटाउने अभियान जारी रहँदै गर्दा यही माघ अन्तिमदेखि घर निर्माणको काम शुरु गर्ने निर्माण समितिको तयारी छ । घर निर्माणको लागि तत्कालै रड र सिमेण्ट खरिद तथा ढुवानी प्रक्रिया अघि बढाईनेछ ।
जिल्ला कार्य समिति काठमाण्डौंको शनिबार बसेको बिशेष बैठकले रिब्दुङ महेश्वरीमा निर्माणाधिन संग्रहालयको आर्थिक सहयोगको लागि सबैलाई अपिल गर्ने निर्णय गरेको अध्यक्ष बान्तवाको भनाई छ ।