खोटाङ माघ–१३, प्राविधिक शिक्षा हासिल गरेलगत्तै योग्यताको आधारमा सरकारी तथा गैरसरकारी संस्थामा रोजगारी पाउने भएपछि पछिल्लो समय खोटाङका विद्यार्थीहरु प्राविधिक शिक्षा प्रति आकर्षित हुन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो दुई वर्षको अवधिमा दुई वटा प्राविधिक शिक्षा अध्ययन हुने शिक्षालय सञ्चालनमा आएपछि बिद्यार्थीहरु प्राबिधिक शिक्षाप्रति आकर्षित बनेका हुन् । 
रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित दिक्तेल प्राविधिक शिक्षालयमा विभिन्न विषय र पञ्च माविमा बाली विज्ञान विषयको पढाइ हुने गरेको छ । स्थापना भएको दुई वर्षमै ६५ जनाले सरकारी जागिरमा नाम निकालेपछि दिक्तेल प्राविधिक शिक्षालयमा अहिले २ सय विद्यार्थी अध्ययनरत छन् । सवओभरसियर, वन प्राविधिक, कृषि तथा पशु प्राविधिक, ब्युटिसियन र मोवाइल मर्मत लगायतमा पढाइ हुने शिक्षालयले सिटिइभिटीको मान्यता प्राप्त गरेको छ । 
२०७२ सालबाट सञ्चालनमा आएको दिक्तेल प्राविधिक शिक्षालयमा अध्ययन गरेर लोक सेवा आयोगको परीक्षा दिएकामध्ये ५१ जनाले वन प्राविधिक र १४ जनाले सवओभरसियरमा नाम निकालेर सरकारी जागिरे भएका छन् । प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले सरकारी सेवामा धमाधम नाम निकालेपछि अहिले स्नातकोत्तर गरेर बसेका व्यक्ति पनि प्राविधिक शिक्षा अध्ययन गर्न थालेका छन् । 
प्राविधिक शिक्षा प्रति विद्यार्थीको आकषर्ण बढ्दै गएपछि पछिल्लो समय विद्यार्थीको चाप धान्न गाह्रो भएको दिक्तेल प्राविधिक शिक्षालयका प्रमुख सीताराम राईले बताउनुभयो । आफ्नो शिक्षालयमा अध्ययन गर्ने विद्यार्थी कोही पनि बेरोजगार बस्न नपरेको राईको भनाई छ । 
आर्थिक वर्ष २०७३÷०७४ मा शिक्षा मन्त्रालय शिक्षा विभागबाट बाली विज्ञान विषयमा कक्षा १२ सम्म पढाउने अनुमती पाएको पञ्च माविमा अहिले करिब २५० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ९ र १० सम्म बाली विज्ञान विषयको कक्षा सञ्चालन गर्दै आएको विद्यालयले २०७३ साल असोज ६ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार बाली विज्ञान विषयमा उच्च मावि सञ्चालन गर्ने स्वीकृति पाएको हो ।