
खोटाङ माघ–२०, नेकपा (एमाले)का युवा नेता शेरधन राईले अब बन्ने नयाँ सरकारले देशमा स्थायी शान्ति र राजनीतिक स्थायीत्व कायम गर्दै सामाजिक सुरक्षा सहितको सम्मानको ग्यारेन्टी गर्ने बताउनुभयो । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा निर्माण गर्न लागिएको ला ज्यालो वाङथोप गुम्बा शुक्रबार शिलान्यास गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहनुभएका नेता राईले मुलुकको विकास र सम्बृद्धिको चाहनालाई मुर्त रुप दिन ठोस योजनाका साथमा अगाडि बढ्नु नयाँ सरकारको कार्यभार हुने उल्लेख गर्नुभयो ।
“देशमा भौतिक पूर्वाधारको विकास गर्नुछ, प्रत्येक कुना कुनालाई सडकबाट जोड्नु छ । प्रत्येकको घरमा बत्ती बाल्नु छ । घर घरमा पिउने पानीको धारा बिस्तार गर्नुछ ।” उहाँले भन्नुभयो, “प्रत्येक गाउँमा शैक्षिक संस्था, अस्पताल खोल्नु छ । रोजगारीका अवसर सिर्जना गर्नु छ । अवशर खोज्दै बसाई सर्नुपर्ने बाध्यता अन्त्य गर्नुछ ।”
एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका नेता राईले आगामी फागुन दोस्रो साताभित्र नयाँ सरकार निर्माण हुने बताउनुभएको छ । आगामी फागुन ३ गतेसम्ममा ७ वटै प्रदेशमा प्रदेश सरकार निर्माण हुने र फागुन दोस्रो साताभित्र वाम गठबन्धन नेतृत्वमा स्थिर र बलियो सरकार बन्ने बताउनुभयो ।
“फागुन ३ गतेसम्ममा सबै प्रदेशले प्रदेश सरकार पाउने छ । त्यसपछि फागुन दोस्रो साताभित्र वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ । एमाले प्रदेश नम्बर १ का उपसंयोजक समेत रहनुभएका राईले भन्नुभयो, “७ वटा प्रदेशमध्ये ६ वटामा बाम गठबन्धनले नेतृत्व गर्ने छ ।”
तीन वटै सरकार पाएपछि देश स्वर्णीम युगमा प्रवेश गर्ने राईले बताउनुभयो । कार्यक्रमका अधिकांश वक्ताले शेरधनलाई प्रदेश नम्बर एकको भावी मुख्य मन्त्रीकारुपमा सम्बोधन गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई लगायतले सम्बोधन गर्नुभएको थियो ।
करिब २१ करोडको लागतमा निर्माण कार्य पूरा हुने गुम्बाका लागि स्थानीय मेनुका तामाङ (राई)ले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । गुम्बा निर्माणपछि नुनथला धार्मिक पर्यटनको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।