खोटाङ माघ–२३, विपन्न नागरिकको सहज स्वास्थ्य सेवाका लागि खोटाङमा पञ्चकर्म सेवा शुरु गरिएको छ । सहज र सस्तो उपचारबाट बञ्चित रहेका नागरिकको सहज स्वास्थ्य सेवाका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी आयुर्बेद औषधालयमा पञ्चकर्म सेवा सुरु गरिएको हो ।
प्रदेश नम्बर १ भित्रका आयुर्वेद औषधालयमध्ये पञ्चकर्म सेवा बिस्तार गर्ने हलेसी आयुर्वेद औषधालय दोश्रो हो । औषधालयको पञ्चकर्म सेवा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उदघाटन् गर्नुभएको हो ।
आयुर्वेद औषधालयबाट शिरोधारा, सर्वाङस्वेद, कटिबस्ती, जानुबस्ती, गृवाबस्ती, उरबस्ती, बालुकास्वेद, पोटलिस्वेद, नस्यकर्म, नाडिस्वेद लगायतका सेवा सुरु गरिएको हलेसी आयुर्बेद औषधालयका प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा आयुर्वेद औषधालयमा पञ्चकर्म सेवा बिस्तार गरिएको हो । 
हलेसी आयुर्वेद औषधालयको पञ्चकर्म सेवाबाट दैनिक कम्तीमा १५ जना सर्वसाधारणले उपचार सेवा पाउने औषधालयका प्रमुख पोखरेलको भनाई छ । पञ्चकर्म सेवाबाट नगरपालिकाभित्रका दैनिक १५ जना सर्वसाधारणले सेवा लिने अपेक्षा गरिएको छ ।