
खोटाङ, माघ–२८, सडक दुर्घनामा ज्यान गुमाएका खोटाङका बिद्यार्थी नेता मिलन राईको स्मृतिमा खोटाङको रावाबेँसी गाउँपालिकामा आयोजित वडास्तरिय भलिबल प्रतियोगीता सम्पन्न भएको छ । वर्ष दिनअघि संगठनकै कामको शिलशिलामा काठमाण्डौंबाट जिल्ला फर्कने क्रममा भक्तपुरमा भएको मोटरबाईक दुर्घटनाका कारण २७ बर्षकै उमेरमा ज्यान गुमाएका बिद्यार्थी नेता राईको स्मृतिमा आयोजित ३ दिने भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
गत बर्ष माघ–२५ गते दुर्घटनामा परी उपचारको क्रममा माघ–२७ गते निधन भएको अनेरास्वबियु केन्द्रीय कमिटीको सदस्य स्वर्गीय मिलन राईको स्मृतिमा स्थापित मिलन राई स्मृति प्रतिष्ठानको आयोजनामा लामीडाँडामा वडास्तरिय भलिबल प्रतियोगीता सञ्चालन गरिएको हो । माघ २५ गतेदेखि शनिबारसम्म भएको मिलन स्मृति कपमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–१ कुईभीरले प्रथम स्थान प्राप्त गरेका छन् । यस्तै, रावाबेँसी गाउँपालिका–२ खार्पाले दोश्रो तथा रावाबेँसी गाउँपालिका–५ दुबेकोलले तेश्रो स्थान प्राप्त गरेको मिलन राई स्मृति प्रतिष्ठानका अध्यक्ष पदम थुलुङले बताउनुभयो ।
विद्यार्थी नेता मिलनको प्रथम स्मृति दिवस पारेर सञ्चालन गरिएको प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने टिमलाई क्रमशः ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगीतामा कुईभीरका भुवन माझी उत्कृष्ट खेलाडी तथा सोही टिमका निसान माझी अनुशासित घोषित भएका छन् ।
प्रतियोगीताका बिजेता टिमलाई प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई लगायतले नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् । राईको स्मृति दिवसमा एकल नृत्य प्रतियोगीता समेत आयोजना गरिएको छ । नृत्य प्रतियोगीतामा सर्मिला राई प्रथम, मनिला सामपाङ दोश्रो र लियोसारा राई तेश्रो भएकी छन् ।
अनेरास्वबियुका केन्द्रीय सदस्य एबं अनेरास्वबियुको खोटाङ र सोलुखूम्बु ईन्चार्जको रुपमा कार्यरत राईको सडक दुर्घटनामा परेको तीन दिनपछि ट्रमा सेन्टरमा उपचारकाक्रममा २०७३ साल माघ २७ गते मृत्यु भएको थियो ।