खोटाङ फागुन–२, “समग्र खोटाङ समुन्नतिको निकास ;ज्ञान, सीप, संस्कार, साक्षरताको विकास” भन्ने नारासहित खोटाङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेका १५ देखि ६० बर्ष उमेर समुहका ९६ दशमलब ५६ प्रतिशत नागरिक साक्षर पाईएपछि  बुधबार सदरमुकाम दिक्तेलबजारमा बिशेष कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा साक्षर जिल्ला घोषणा गरिएको हो । 
२०६७ सालदेखि सञ्चालन गरिएको साक्षर नेपाल अभियान अन्तर्गत दुई नगर र आठ गाउँपालिका रहेको जिल्लाले मापदण्ड पूरा गरेपछि प्रतिनिधि सभाका सदस्य बिशाल भट्टराईमार्फत औपचारिक रुपमा घोषणा गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । १५ देखि ६० बर्ष उमेरका एक लाख ३९ हजार ९ सय ४१ निरक्षर नागरिकमध्ये एक लाख ३५ हजार १ सय २९ जनाले साँवा अक्षर पढ्न र लेख्न सक्षम बने पछि साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताउनुभयो । 

जिल्लाका निरक्षर नागरिकले १ देखि सय अंक लेख्न र भन्न, आम्दानी र खर्चको बिबरण राख्न, बैंक भौचर भर्न, मोवाईल चलाउन, सभा–समारोहमा बोल्न सक्ने लगायतका १२ सुचकमध्ये कम्तीमा ७ सुचक पूरा गरेपछि साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी श्रेष्ठको भनाई छ ।  जिल्लामा सो उमेर समुहका ३ दशमलब ४४ प्रतिशत नागरिक निरक्षर नै रहे पनि ९५ प्रतिशत भन्दा बढी साक्षर प्रतिशत पाईए साक्षर क्षेत्र घोषणा गर्न सकिने नेपाल सरकारको नीति अनुरुप खोटाङलाई साक्षर घोषणा गरिएको जनाईएको छ ।
देशकै सबै भन्दा बढी २७ श्रोत केन्द्र रहेको साक्षर खोटाङ जिल्ला घोषणा कार्यक्रमको शुरुमा जिल्लामा कार्यरत शिक्षक, बिद्यार्थी, शैक्षिक संघसंस्थामा आबद्घ ब्यक्ति, शिक्षाप्रेमी, बुद्घिजीवि लगायतको सहभागितामा बिशाल ¥याली निकालिएको थियो । ¥यालीले सदरमुकाम दिक्तेलबजार परिक्रमा गरे पश्चात स्थानीय हेलिप्याडमा आयोजित घोषणा कार्यक्रममा बिभिन्न साँस्कृतिक झाँकी तथा शैक्षिक जागरण झल्कने सांगीतिक प्रस्तुतीहरु राखिएको थियो ।
जिल्लामा ४ सय ९१ सामुदायिक, २९ संस्थागत, २ प्राबिधिक र ३ सय ४७ बाल बिकास केन्द्र सञ्चालनमा रहेका छन् । यस्तै, ३ समाहित शिक्षाका श्रोत केन्द्र, एक खुला बिद्यालय, एक परम्परागत बिद्यालय, २९ सामुदायिक अध्ययन केन्द्र र ६ क्याम्पस जिल्लामा रहेका छन् । 
खोटाङलाई साक्षर जिल्ला घोषणा गरिए पनि अनौपचारिक शिक्षा कार्यक्रमले भने निरन्तरता पाउने अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले जनाएको छ ।