
खोटाङ फागुन–२, ‘टेम्केमा हिउँ पर्ने बेला भयो । तुवाचुङमा सालन्ने हिउँ पर्दैन तर सगरमाथामा र उसका छिमेकी हिमालहरुमा थुप्रिने हिउँको दृश्य मज्जाले देखिन्छ यहाँबाट । यसरी कहिले हिउँ पर्छ अनि तुसारो त हरेक हिउँदमा पर्छ–पर्छ । हावाहुरी चल्नु, पानी पर्नु, कहिले घाम चर्केर लाग्नु, कहिले कुहिरोले ढाक्नु, कहिले महिनौंसम्म पानी नपरेर खडेरी लाग्नु प्रकृतिका यस्ता अनेकन प्रक्रियाका भुक्तभोगी छन्, टेम्के तुवाचुङहरु ।..’
साहित्यिक पत्रिका टेम्के तुवाचुङ त्रैमासिकको कात्तिक–पुस अंकको सम्पादकीयमा उठान गरिएको प्रशंग हो यो । पहाडकी रानी टेम्के अनि सीप र सभ्यताको निशानी तुवाचुङ डाडाँहरु जो आफैमा गर्ब बनेर चुलिएका छन् । पत्रिकाका सम्पादकले त्यही प्राकृतिक सौन्दर्यले सिंगारिएका ऐतिहासिक चुचुरोहरुसँग साहित्यिक पत्रिका टेम्के तुवाचुङलाई मिसाएर प्रस्तुत गर्न खोजेको जस्तो लाग्छ ।
टेम्के तुवाचुङ प्रतिष्ठानका लागि भोगेन्द्र राईद्वारा प्रकाशित पत्रिकाको उक्त अंकमा प्रकाशित सम्पादकीयमा उल्लेख छ–
‘हिउँ परोस् अथवा तुसारो परोस, कुहिरोले ढाकोस वा सफा गगनबाट पारिलो घाम र शीतल जुनताराले सेकोस, बर्षा होस, हावाहुरी चलोस् वा लामो खडेरी होस्, यस्ता अनेक र हरेक कुरा सहेर, पचाएर हजारौं(हुन सक्छ लाखौं, करोडौं) बर्षदेखि चुपचाप चुपचाप खडा छन्, टेम्के तुवाचुङ । अनेक आँधी, हुरी, असिना, खडेरी, तुसारो, हिउँ, बतास, बर्षा, अनि न्यानो घाम र जुनताराको शीतलता सबै सबै सहेर, पचाएर नै टेम्के तुवाचुङहरुले आफ्नो अस्तित्व कायम गर्न सकेका छन् । हाम्रा टेम्के तुवाचुङबाट हामीले सिक्ने कुरा पनि यही होला सायद–अनेक बाधा, ब्यवधान र अप्ठ्याराहरु सहेर, अनेक दुःखसुख भोगेर पचाएर नै मानिसले पनि जीवनको अस्तित्व राख्नुपर्छ ।’
साहित्यिक पत्रिकामध्येमा सरदर भन्दा बढीको उचाई दिन खोजिएको उक्त टेम्के तुवाचुङ त्रैमासिक पत्रिकाको लागि डा.धनप्रसाद सुबेदी प्रधान सम्पादक, सीता थुलुङ सम्पादक अनि नाकिमा नाकिम कार्यकारी सम्पादक रहनुभएको छ । केही ढिलो गरी प्रकाशनमा आएको कात्तिक–पुस अंक दोश्रो अंक मात्र हो ।
दीगो रुपमा सञ्चालन गर्नका लागि बिशेष पहलहरु चलाईरहेको भनिएको पत्रिकाको यस अंकमा कबि जसराज किरातीको अन्तर्बातालाई प्रमुख आकर्षणको रुपमा संकेत गरिएको छ । तुवाचुङमा हालसालै प्रतिस्थापन गरिएको रैछाकुलेको प्रतिमालाई आवरण बनाईएको अंकमा नाम चलेका लेखक, साहित्यकारहरुको खुराक पढ्न पाईने सम्पादक मण्डलको भनाई छ ।
‘हिउँदमा जति नै तुसारो परे पनि बसन्तको आगमनसँगै टेम्के र तुवाचुङमा गुराँस फुल्न छाड्दैन ।’ सम्पादकीयमा उल्लेख गरिए जस्तै पत्रिकालाई अनेक ब्यवधान तथा अड्चनबीचमा पनि निख्खरता सहितको निरन्तरता दिन तत्पर रहेको प्रकाशन, सम्पादनमा जुट्ने सर्जकहरुको आशय छ । जिल्ला प्रशासन कार्यालयमा २१ औं नम्बरमा दर्ता भई प्रकाशन शुरु भएको पत्रिकाको यस अंकमा पनि कबिता, गीत, गजल, अन्र्तबार्ता, निबन्ध, कथा, जीवनी, र संस्मरण समेटिएका छन् ।
पत्रिकाको सम्पादन प्रकाशन समुहमा अधिराज राई प्रकाश, बिमल राई, पेङ किरात, वेदीकुमार राई, रेखा क्षितिज, जीवन राई लगायतका सर्जकहरु रहनुभएको छ । समुहमा सविता भुजेल, प्रेमिला राई, गुगसन किरात रामधन बेदना, सिताराम राई, अम्बिर राई र पवन राई सम्मिलित छन् ।