खोटाङ फागुन–२, खोटाङमा गत बर्ष पहिलो पटक भब्य ढंगबाट सफल बनेको खोटाङ हलेसी खुल्ला अन्तराष्ट्रिय कराते प्रतियोगिताले यो बर्ष पनि निरन्तरता पाउने भएको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा आगामी बैशाख २०, २१ र २२ गते करिब ५० लाख रुपैंयाँ आर्थिक लागतमा ६८ पदकको लागि दोश्रो खोटाङ हलेसी खुल्ला अन्तराष्ट्रिय कराते प्रतियोगिता गर्ने टुंगो गरिएको हो ।
सदरमुकाम दिक्तेलबजारमा आयोजना गरिने प्रतियोगितामा नेपालको सात प्रदेशको सातै टिमसहित भारत, श्रीलंका, भुटान, बंगलादेशका साथै नेपालका बिभागिय टिमहरु गरी १५ टिमले सहभागिता बन्नेछन् । बिभागीय टिममा गत बर्ष झैं नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले सहभागिता जनाउने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।
१७ स्वर्ण, १७ कास्य ३४ पदकका लागि हुने प्रतियोगिताका टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । अनुशासित टिम, उत्कृष्ट मार्चपास टिम, उत्कृष्ट महिला÷पुरुष, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक तथा अनुशासित पुरुष र महिलाले जनही २०÷२० हजार रुपैंयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई ब्यवस्थित र सफल बनाउनको लागि मुल आयोजक समारोह समिति समिति तथा उप समितिहरु गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गराउने मूल समितिको संयोजकमा जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङलाई चयन गरिएको छ ।
रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, जिल्लाका राजनीतिक दल लगायत सबै निकायले कार्यक्रम सफल बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।