खोटाङ फागुन–४, खोटाङमा एकलौटी ढंगले उपभोक्ता समिति निर्माण गरेको भन्दै असन्तुष्ट समुहले वडाध्यक्षलाई कार्यकक्षमै थुनेका छन् । रुपाकोट मझुवागढी नगरपालिका–१४ बिजयखर्कका सडक निर्माण उपभोक्ता समिति प्रक्रिया मिचेर बनाएको भन्दै असन्तुष्ट बनेका स्थानीयले वडाध्यक्ष बिरेन्द्र ढकाललाई बिहिबार कार्यकक्षमै केही समय थुनेका हुन् ।
३० लाखको लागतमा निर्माण हुने बुइपा–बिजयखर्क वडा कार्यालय हुँदै जोड्ने सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्ट बन्दै वडाध्यक्षलाई ताला लगाउनमा संलग्न प्रेम खनाल, रामबहादुर कटुवाल, चुडामणी राई र भुपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले बताउनुभयो । 
वडा कार्यालयमा लगाइएको ताला प्रहरीचौकी बुइपाबाट गएका प्रहरीले केही समयपछि खोलेका थिए । 
उपभोक्ता समिति गठनका विषयमा राखेको लिखित गुनासो लिन अस्वीकार गरेकाले ताला लगाउनुपरेको असन्तुष्ट पक्षको भनाई छ । उनीहरुले प्रशासनमा समेत लिखित गुनासो पोखेको बताएका छन् । 
रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले भने सवै प्रकृया पूरा गरेर सडक निर्माण उपभोक्ता समिति गठन गरिएको बताउनुभयो । 
उपभोक्ता समिति गठनका लागि सार्वजनिक सूचना जारी गर्दा पनि भेलामा नआएकोहरु नै असन्तुष्ट बनेको मेयर रिजालको भनाई छ ।  अहिले प्रतिशोधमा ताला लगाउने काम गरिएको रिजालले बताउनुभयो ।  बिहिबार बिहान मात्र शिलान्यास गरिएको सडकको बिषयमा उक्त घटना भएपछि शुक्रबार दुवै पक्षलाई राखेर छलफल गराउने तयारी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी लोकदर्शन थापाले जनाउनुभयो ।