खोटाङ फागुन–६, चर्चित अभिनेता दयाहाङ राई खोटाङमा निर्माणाधिन किरात राई संग्रहालयको सद्भावना दुत बन्नुभएको छ । अभिनेता राईलाई जिल्लाको ऐसेलुखर्क गाउँपालिका–५ रिब्जुङ महेश्वरीमा निर्माण शुरु गरिएको ऐतिहासिक संग्रहालयको काम सम्पन्न गराउन आईतबार सद्भावना दुत बनाईएको हो । 
किरात राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, साँस्कृतिक सामाग्री र भेषभूषा संरक्षणार्थ किरात राई थुलुङ जातिको ऐतिहासिक थलो मानिने रिब्जुङमा संग्रहालय निर्माण शुरु गरिएको हो । किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति महेश्वरीको पहलमा मौलिक गरगहना, कला, साहित्य, सीप जस्ता बहुमुल्य सम्पदालाई संकलन र संरक्षण गर्ने उदेश्यले निर्माण शुरु गरिएको संग्रहालयको लागि यायोक्खा जिल्ला कार्य समितिको समन्वयमा अभिनेता राईलाई सद्भावना दुत बनाईएको हो । 
काठमाण्डौं जिल्ला कार्य समितिको अध्यक्ष दिलिप रुङ्माहाङको समन्वयमा काठमाण्डौंमा सम्पन्न औपचारिक कार्यक्रममा बोल्दै राई जातिको ऐतिहासिक संग्रहालय निर्माण सम्पन्न गराउन तन–मन दिएर लागी पर्ने सद्भावना दुत दयाहाङले बताउनुभयो । 
दयाहाङले देश–बिदेशमा रहेका शुभचिन्तक तथा दाताहरुसँग आर्थिक संकलनको लागि सम्पर्क, समन्वय देखि लिएर सबै काममा यथाशक्य खटिने प्रतिबद्घता जनाउनुभएको निर्माण समितिको संयोजक खुक्सङ खम्बुले बताउनुभयो । 
नेपालकै इतिहासमा पहिलो पटक निर्माण हुन लागेको संग्रह निर्माणका लागि २ करोड रुपैंयाँ लागत बराबरको बृहत योजना बनाईएको छ । ३ बर्षम सम्पन्न गर्ने गरी गत बर्षदेखि शुरु गरिएको संग्रहालयमा यो बर्ष ५५ लाख रुपैंयाँ लागतमा एक तला भवन निर्माण सम्पन्न गर्ने तयारी गरिएको छ । साहित्यकार तथा संस्कृतिकर्मी समेत रहनुभएको संयोजक खम्बुको अनुसार संग्रहालयको लागि देशबिदेशका शुभचिन्तक, समाजसेवी, संस्कृतिकर्मीहरुबाट हालसम्म १७ लाख रुपैंयाँ बढी रकम प्राप्त भएको छ । 
संग्रहालयको बिकास गरी किरात अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र पर्यटनमा समेत टेवा पु¥याउने गरी दीर्घकालिन योजना तय गरिएको छ । देशबिदेशमा रहेका किरात संस्कृतिप्रेमी तथा सामाजिक संघसंस्थाहरुले महाअभियानको रुपमा लिई संग्रहालय निर्माणको सहयोगमा जुटेको संयोजक खम्बुको भनाई छ । 
थुलङ राईहरुले आवाद गरेको जिल्लाको सुदुर उत्तर–पुर्वी दिशामा अवस्थित निर्माणाधिन गाउँमा थुलुङ राईहरुको भाषा, संस्कृति अझै पनि ज्यूँको त्यूँ रहेको स्थानीय दावी गर्छन् ।  संग्रहालयको बृहत अवधारणा सँगै स्थानीय दाता शम्शेरजंग राई, मानबहादुर राई र पूर्णबहादुर राईले ८ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभयो । किरात राई यायोक्खाको नाममा दर्ता गराईएको उक्त जग्गा ऐतिहासिक, साँस्कृतिक तथा भौगोलिक हिसाबले समेत अत्यन्तै आकर्षक रहेको जनाईएको छ । जग्गा खरिद तथा निःशुल्क माग गरी संग्रहालयको क्षेत्रफल कम्तिमा ५० रोपनी बनाउने योजना छ ।
‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती कथन अनुरुप किरातीहरुको मौलिक इतिहास, संस्कार, चालचलनलाई केन्द्रीत गर्दै निर्माण गरिने संग्रहालयको लागि सबै पक्षलाई सहयोग, सद्भावको अपिल गरिएको छ ।  दश किरातको प्रतीक स्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई स्रग्रहालय निर्माण गरिने योजना छ । 
तीन तले गोलाकार भवनको धुरीमा मेटलबाट निर्मित चिण्डोको बर्निङ गजुर राख्ने तथा किराती बास्तुकलाले भरपुर सजाइने छ । संग्रहालय भवन पूर्णतः भूकम्प प्रतिरोधात्मक बनाउने टुंगो लागेको बताइएको छ । 
हाल एक बर्ष बित्दा घडेरी सम्याउने, निर्माणस्थलमा गिटी–बालुवाको ब्यवस्था, काठ काट्ने लगायतका कार्य सम्पन्न भईसकेको छ ।