
खोटाङ फागुन–९, खोटाङको रावाबेंशी गाउँपालिका–३ लामिडाँडामा आगलागी हुँदा साँडे १२ लाखको क्षति हुनका साथै एक जना गम्भिर घाईंते बनेका छन् । काठ काट्ने मेसिनमा बुधबार बिहान पेट्रोल हाल्ने क्रममा सल्किएको आगोबाट धनबहादुर सार्कीको घर पूर्ण रुपमा नष्ट हुनका साथै श्रीमति रत्नमायाँ जलेर गम्भिर घाईंते बन्नुभएको हो ।
काठ काट्ने तथा चिर्ने उपकरणमा धनबहादुरले पेट्रोल लगाउने क्रममा ७ बर्षिया उहाँकै छोराले आगो चलाउन पुग्दा एक्कासी आगलागी हुन पुगेको स्थानीयले बताएका छन् । आगलागीमा परी ५० बर्षिया रत्नमायाँ गम्भिर बन्नुभएको छ भने आगो चलाउन पुग्ने बालक सामान्य घाईंते बनेको स्थानीयले जनाएका छन् ।
आगलागीबाट जस्ताको छानो भएको घर तथा घरभित्र रहेको दुई तोला सुन लगायत नष्ट बनेको छ । केही चाँदी, एक लाख रुपैंयाँ नगद, सोही काठ चिर्ने मेसिन लगायतका जिन्सी र अन्नपात जलेर पूर्ण रुपमा नष्ट बनेको लामिडाडाँ प्रहरीले टिप्पणी उठाएका छन् । प्रहरीको टिप्पणी अनुरुप आगलागीबाट कूल १२ लाख ५६ हजार बराबरको क्षति भएको छ ।
लामिडाँडा प्रहरी, स्थानीय लगायतको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।
जलेर घाईंते बन्नुभएको रत्नमायाँको अवस्था चिन्ताजनक भएकोले उपचारको लागि हेलिकोप्टर झिकाईएको छ । ५० बर्षिया रत्नमायाँलाई उपचारमा लैजान गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, युवा, बिद्यार्थी लगायतको पहलमा करिब १ लाख रुपैंयाँ तत्कालै सहयोग संकलन गरिएको छ ।
बिपद्को समयमा स्थानीय बिद्यालयका बिद्यार्थीहरुले समेत खाजा खर्च कटाएर करिब ५ हजार पीडित परिवारलाई जुटाईदिएको अनेरास्वबियु खोटाङका अध्यक्ष खेमराज देउसालीले जानकारी दिनुभयो ।
आठ जनाको संख्या रहेको उक्त पीडित परिवारको लागि हाल बसोबास तथा खाद्यान्नको ब्यवस्थामा स्थानीय जुटिरहेको स्थानीय पदम राईले जानकारी दिनुभयो ।
खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा केही बचाउन नसकेकाले तत्कालका लागि स्थानीय युवाहरुको पहलमा करिब ५ हजार बढीको खाद्य सामाग्री प्रदान गरिएको बताईएको छ । बस्नको लागि भने पीडित सार्कीकै मतानमा ब्यवस्था भईरहेको छ ।