खोटाङ फागुन–११, खोटाङको हलेसी आसपासमा मापदण्ड बिपरित बनाईएको टहरा लगायतको संरचना हटाउनका लागि चौथोपल्ट दिएको म्याद बित्दा समेत अटेर गरेको पाइएपछि डोजर लगाएर हटाउन थालिएको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसी आसपासमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको अस्तव्यस्त संरचना हटाउँदै हलेसीलाई सुन्दर धार्मिक नगरीका रुपमा बिकास गर्ने लक्ष्यका साथ सार्वजनिक एबं सडकको जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाउन शुरु थालिएको हो ।
सुरक्षाकर्मी सहित हलेसी पुगेका सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदीको उपस्थितिमा हलेसी तुवाचुङ नगरपालिकाले डोजर लगाएर टहरा भत्काउन थालिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । नगरपालिकाले हलेसी आसपासका २१ स्थानीयको २३ वटा टहरा भत्काएको छ ।
बाँकी टहरा पनि क्रमशः भत्काइने मेयर राईले बताउनुभयो । सार्वजनिक सुचना प्रकाशन, सूचना टाँस एबं माइकिङ गरेर आग्रह गर्दा समेत टहरा हटाउन अटेर गरिएपछि नगरपालिकाले बल प्रयोग गर्नु परेको जनाईएको छ ।