
खोटाङ खोटाङ–२२, मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्रे गरिएको महिना दिन नबित्दै उप्किन थालेका छन् । तीन वर्षअघिदेखि कालोपत्रे थालिएको दिक्तेल–हलेसी सडक खण्डको हलेसी र अर्खौलेको बिचमा गरिएको कालोपत्रे महिना दिन नपुग्दै उप्किन थालेको हो ।
कालोपत्रे गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल भएको कारण कालोपत्रे उप्किएको स्थानीय बताउँछन् । तीन खण्डमा विभाजन गरेर काम थालिएको सो सडकको दिक्तेलदेखि हुर्लुङसम्मको खण्डमा भने अहिले ग्रावेलिङको काम भइरहेको छ ।
उक्त खण्डमा पनि नुनथलास्थित हुर्लुङ पाखाको कमसल (सेतो फोस्के) रोडा÷ढुङ्गा प्रयोग गरेको पाइएको छ । सडक कालोपत्रे गुणस्तरहीन बन्दै गएकोप्रति अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
सडक कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनीले कढी नाफा कमाउने लोभले कमसल सामग्री प्रयोग गरेको स्थानीयको आरोप छ । जिल्लाको प्रमुख मार्ग दिक्तेल–हलेसी सडक कालोपत्रे गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन त्रिसुलीले लिएको छ ।
निर्माणस्थलमा खटिएका इन्जिनियरहरुले ठेकेदारले अह्राए अनुसार आफूहरुले काम गरेको बताएका छन् ।
जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सुर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्रे गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिसुलीले लिएको छ । एसियाली विकास बैंक (एडिबि)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी काम थालिएको हो ।
करिब दश वर्षअघिदेखि यातायात सुचारु भएको दिक्तेल–हलेसी सडक कालोपत्रे नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ ।