दिनेश बस्नेत/खोटाङ

फागुन–२२, उमेरले झन्डै ७ दशक पुगेको खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकाको सम्भु भुजेल हाल बाख्रा पालनमा रमाईरहनुभएको छ । नगरपालिकास्थित ४ नम्बर वडा खाल्लेको शम्भुलाई बुढेसकालमा बाख्रा पालन ब्यवसाय गर्ने जोश भने बित्तिय साक्षरता कक्षाले दिलाएको हो । 
सामान्य आर्थिक अवस्था रहेको सम्भु आफ्नो छोरा वैदेशिक रोजगारीको क्रममा कतार गएपछि बिप्रेषण प्रापक तथा सञ्चालकको रुपमा बित्तिय साक्षरता कक्षामा सहभागी बन्नुभएको थियो । आम्दानी, बचत, खर्च तथा लगानीबारे उक्त कक्षाबाट घत लाग्दो ढंगले जानकारी पाएपछि शम्भुलाई एकाएक आम्दानीको बाटो बढाउने सनक चलेको हो । 
यसअघि घरको शोभाको लागि मात्र बाख्रा पाल्ने भुजेलले अहिले १५ वटा बाख्राबाट ब्यवसायिक लाईन लिनुभएको छ । ५ जनाको परिवार रहेको भुजेलको छोराछोरी र श्रीमति रहेकोमा श्रीमान र श्रीमती २ जनाले मिलेर बाख्राको स्याहार सम्भार गरिरहनुभएको छ । ‘छोराले कतारमा कमाएको पैसालाई  बचत गर्ने र बाख्रापालनबाट आएको रकम घर खर्चमा प्रयोग गर्ने सोंच बनाएको छु ।’ शम्भु भन्नुहुन्छ–‘आम्दानी र खर्चको हिसाब किताब राखियो भने आफै बचत हुँदो रै’छ ।’ 
वैदेशिक रोजगारमा गएको परिवारलाई सहभागी गराउँदै सञ्चालन गरिएको वित्तिय साक्षरता कक्षामा सहभागी बन्दै जाँदा छोराले विदेशमा दुख गरेर कमाएको पैसा घर खर्चमै सकिँदै आएको बुझेर आम्दानी र बचत गर्ने सुद्वी पलाएको उहाँको भनाई छ । अब विदेशमा भएको छोरा नेपाल आएपछि आफ्नै ठाउमा ब्यवसायिक कृषि तथा बाख्रापालन व्यवसायमा लगाउने उहाँको सोंच छ । 
बालसेवा समाज नेपाल नेर्पाद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत जिल्लाका बिभिन्न स्थानमा बित्तिय साक्षरता कक्षा सञ्चालन भईरहेको छ ।