
खोटाङ फागुन–२४, मौसम खराब हुन साथ बिद्युत अबरुद्द हुनाले पुर्बी पहाडी जिल्ला खोटाङ र ओखलढुंगाको उपभोक्ताहरु हैरानी खेप्न बाध्य छन् । हावाहुरी चल्दा, झरी चट्याङ् पर्दा, भेलबाढी चल्दादेखि पहिरो झर्दा समेत बिद्युत अबरुद्द भईहाल्ने हुनाले उपभोक्ता हेरानी खेप्न बाध्य बनेका हुन् ।
३३ केभी प्रशारणलाईन विद्युत विस्तार गरिएको दुई जिल्लामा लामो दूरी, जङ्गलको रुट, होचो खम्बा र ठाउँठाउँमा पहिरो गईरहनाले हप्ता दिनसम्म बिद्युत अवरुद्ध हुने गरेको छ ।
दिक्तेल–गाईघाट प्रशारणलाईन लामो दूरी भएकै कारण पटक–पटक समस्या आउने गरेको नेपाल विद्युत प्राधिकरण खोटाङका प्रमुख नारायणप्रसाद चौधरीले बताउनुभयो ।
पटक–पटकको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न जुटिरहेको चौधरीको भनाई छ ।
खोटाङ र ओखलढुङ्गामा विस्तार गरिएको ३३ केभी विद्युत प्रशारण लाईन स्तरोन्नति नगरेसम्म समस्या रहिरहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । पुरानो संरचनामै क्षमता विस्तार गरिएकोले समयमै ध्यान नदिएको खण्डमा ठूलो दुर्घटना हुने सम्भावना रहेको लयालुले जनाउनुभयो ।
कमजोर संरचना भएकै कारण अवरुद्ध विद्युत लाईन मर्मत गर्ने क्रममा खोटाङमा मात्रै अहिलेसम्म आधा दर्जन बढी प्राविधिकको ज्यान गइसकेको छ । धेरै प्राविधिक अङ्ग–भङ्ग भएर बसेका छन् ।
जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सवस्टेशनमा जोडिएको विद्युत दुई जिल्लामा विस्तार गरिएको छ ।