प्रमिला दाहाल/खोटाङ
फागुन–२५, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–२ राजखर्ककी ५० वर्षीया भुमिसरा राईको हिसाबमा माघ महिनाको घर खर्च ९ हजार ६ सय निस्कियो । यता, आम्दानी जोड्दै लैजाँदा सोही महिना जम्मा १४ हजार सात सय रुपैंयाँ जम्मा भयो ।
गज्जबको कुरा त भूमिसराले श्रृंगारदेखि मनोरञ्जनसम्मको खर्च बिवरण बनाउनुभएको छ । उहाँले श्रृंगार, मनोरञ्जनको लागि टेलिभिजनको केबुल, मोबाईलको रिचार्ज, औषधी उपचार, पानी तथा बिजुलीको बिल, शिक्षा र खाद्यान्नको खर्च बिवरण बनाउनुभएको छ । उक्त महिना उहाँको परिवारमा लत्ताकपडामा भने खर्च नभएको देखिन्छ ।
सबैभन्दा बढी तीन हजार खाद्यान्न तथा दुई हजार शिक्षा र सबै भन्दा कमी श्रृंगारमा पाँच सय खर्च भएको राई परिवारमा सबैभन्दा बढी आम्दानी वैदेशिक रोजगारीबाट दश हजार प्राप्त भएको छ । त्यसपछि क्रमशः पशुपालन, ऋण तथा बचतको ब्याज, ब्यापार र कृषिबाट आम्दानी भएको देखिन्छ ।
‘आम्दानी र खर्चको हिसाब–किताब राख्दा घर–परिवार र विदेशमा भएको सदस्यसँग पनि सम्बन्ध राम्रो हुनेरहेछ ।’ भूमिसरा भन्नुहुन्छ–‘आम्दानी भन्दा खर्च बढी भएमा पनि अनावाश्यक खर्चलाई घटाएर बचत गर्दा धेरै फाइदा हुने रहेछ ।’
अहिले भुमिसरा वैदेशिक रोजगारमा गएको परिवारका सदस्यको लागि सञ्चालन गरिएको वित्तिय साक्षरता कक्षाको नियमित सहभागी हुनुहुन्छ । त्यही छलफलबाट उहाँलाई यस्तो खाले बचतको उपाय फुरेको हो ।
घरमा एक ससुरा २ छोरा, श्रीमान र भुमिसरा गरी ५ जनाको परिवार बस्नुहुन्छ भने जेठो छोरो विक्रम राई वैदेसिक रोजगारको सिलसिलामा ४ वर्ष देखि साउदी अरबमा रहनुभएको छ । साउदीबाट मासिक ३० हजार प्राप्त हुन्छ भने घरमा पनि खेतीपाती, भैसी पालन तथा बाख्रा पालन गरिएको छ । ‘वित्तिय साक्षरता कक्षामा आउनु भन्दा अगाडी आम्दानी र खर्चको हिसाब किताब नराखेकोले कहाँबाट कति पैसा आयो कति खर्च भयो त्यो परिवारलाई पत्तै हुँदैनथ्यो ।’ भूमिसराको भनाई छ–‘ कक्षामा सहभागी हुन थालेपछि घरको सम्पुर्ण हिसाब–किताब आफ्नो पासबुकमा राख्ने र परिवारलाई पनि देखाउने गरेको छु ।’ यसो गर्दा परिवारमा अझ विश्वास बढ्नका साथै आम्दानीको लागि छलफल पनि हुने गरेकोले खुशी बढेको उहाँ बताउनुहुन्छ ।
भुमिसराको अबको योजना आफ्नो जग्गामा तरकारी व्यवसाय गर्ने र घर खर्च आफैले जुटाउने रहेको छ । विदेशबाट प्राप्त रेमिट्यान्सलाई जति सक्दो भरपर्दाे वित्तिय संस्थामा खाता खोली जम्मा गर्ने उहाँको सोंच छ ।
वित्तिय साक्षरता कक्षामा सहभागी भएपछि छोरा बिक्रम विदेश जाँदा बनेको महत्वपुर्ण कागजपत्रको प्रतिलिपि पनि घरमा झिकाउनुभएको छ । आफ्नो माईलो छोरो पनि बिदेश नगई नछाड्ने भएपछि अहिले भुमिसराले सूचना केन्दले दिने नि.शुल्क सिप तालिम सिकाएर कतार पठाउनु भएको छ । उहाँले छोरा विदेश जाँदा बनेको कागज पत्र १÷१ प्रति घरमा नै राख्नुभएको छ । बित्तिय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा जाँदा आवश्यक भाषा, सीप, तालिमको ज्ञान र कागजातको महत्व बारे पनि छलफल हुने गरेको छ ।
उक्त कक्षामा सुरक्षित आप्रवासन परियोजना सामी, नवकिराण सेवा समाज दुर्छिम र बालसेवा समाज नेपाल नेर्पाको सहकार्यमा सञ्चालित सूचना तथा परामर्श केन्द्रले वैदेशिक रोजगारीमा जान तयार भईसकेकालाई निःशुल्क सीप तालिम प्रदान गर्ने कुरा पनि जानकारी गराउने गरिएको छ ।
भुमिसरा अहिले विदेश जानु चाहानेलाई सिप सिकेर विश्वासिलो मेनपावरबाट सम्पुर्ण प्रकिया मिलाएर मात्र जान सल्लाह दिन सक्ने हुनुभएको छ । वैदेशिक रोजगारीको क्रममा गाह्रो अप्ठ्यारो परेमा खोज तथा उद्घारको लागि कागजपत्रले सहजता दिने कुरा समेत उहाँले छरछिमेकमा जानकारी दिनुुहुन्छ ।
भूमिसरा जस्तै वित्तिय साक्षरता कक्षामा सहभागी हुने जिल्लाका महिलाहरु आम्दानीको बाटो खोज्नुका साथै सुरक्षित वैदेशिक रोजगारको बारेमा जानकार बन्न थालेका छन् ।
जिल्लामा सामी अन्तर्गत बालसेवा समाज नेपाल नेर्पाले उक्त कक्षा सञ्चालन गर्दै आएको छ ।