मिनप्रसाद आचार्य/खोटाङ
फागुन–२७, भनिन्छ १२ बर्षमा त खोलै फर्कन्छ । तर, कुमारीको श्रीमान १२ बर्ष होईन १६ बर्ष बिदेश बस्नुभयो परिवारको आर्थिक अवस्था जस्ताका तस्तै रह्यो ।  केही भएन भन्ने चाँही होईन उहाँको श्रीमानले कमाउनुभएको पैसा दुई छोरा र एक छोरीको पठनपाठन, औषधी उपचार र घर खर्चमै ठीक्क ।
 त्यसो त कुमारी आफै पनि खेतीपातीका साथै केही गाईभैंसी र लोकल कुखुरा पालेर पनि आम्दानी गर्नुहुन्थ्यो । अनि किन केही आर्थिक प्रगति भएन त ? 
‘आम्दानी, खर्च र बचत बारे ज्ञान नभएर रै’छ नि !’ खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–१ का कुमारी पाण्डे भन्नुहुन्छ–‘आम्दानीले मात्र नहुने रै’छ, बचत र लगानी बारे पनि ज्ञान हुनुपर्ने रै’छ ।’ तर अब भने कुमारीले आम्दानीको बाटो फराकिलो पार्नुभएको छ । आम्दानीसँगै खर्च घटाएर बचत र सुरक्षित लगानीमा  ध्यान गएको उहाँको भनाई छ । 
‘जब मैले वित्तिय साक्षरता कक्षामा सहभागी हुने मौका पाएँ तब मेरो परिवारमै नयाँ जोश जाँगर भरिएको छ ।’ कुमारी भन्नुहुन्छ–‘ त्यो कक्षामा त आम्दानी गरी बचत गर्ने र खर्च घटाउने बिषयसँगै अन्य पारिवारिक जीवनस्तर कसरी सुधार्ने भन्ने विषयमा पनि छलफल भयो ।’ 
तब कुमारी पाण्डेले परिवारको सहयोगमा ब्यवसायिक ब्रोईलर कुखुरा पालन शुरु गर्नुभएको छ । बल हुँदो उमेरसम्म बिदेशमै रहनुभएको उहाँको श्रीमान पनि अहिले भने घरमै आम्दानीमुलक कार्यमा खट्नुभएको छ ।
स्थानीय स्तरमा पाईने बाँसबाट कुखुराको खोर बनाई आफ्नै लगानीमा ६० हजार रुपैंयाबाट कुखुरा पालन व्यावसाय सुरु गरेको मीना सुनाउनुहुन्छ । 
 १ सय ६० वटा बोइलर कुखुराबाट सुरु भएको व्यावसायलाई अझै बिस्तार गरी राम्रै आम्दानी गर्ने कुमारीको लक्ष्य छ । बालसेवा समाजद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारमा गएको परिवारको सदस्यलाई दिदैं आएको व्याबहारिक वित्तिय साक्षरता कक्षामा सहभागी बनेपछि यी सब कार्यप्रति जाँगर बढेको कुमारीले जनाउनुभयो ।
एक बर्ष अगाडीसम्म न उधो न उभो रहेको कुमारीको पारिवारिक अवस्था अहिले जताततैबाट आम्दानीमय बनेको छ । अहिले कुमारीको लोकल कुखुरा भैसी बाख्राबाट मासिक ६ हजार आम्दानी हुन्छ । २ वर्ष देखि रोजगारको सिलसिलामा दुवईमा रहेको जेठो छोरोको पनि निक्कै राम्रो कमाई हुन्छ । अब हुने खर्चलाई कम गर्दै ती सब कमाईलाई बचत गर्नमा कुमारी केन्द्रीत बन्नुभएको छ ।
कुमारीको भनाई छ–‘यो कक्षा १०÷११ वर्ष अगाडी नै लिन पाएको भए जीवनलाई सहज बनाउन मिल्ने थिएछ ।’