मिनप्रसाद आर्चाय/खोटाङ
फागुन–२९,  ५ हजारको लगानीमा पनि मासिक १० हजार रुपैंयाँ आम्दानी हुन्छ ? हुँदोरहेछ  ।  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ छार्काका रेनुका राईले टनेला र बिउमा लगानी गर्नुभएकोे ५ हजारको लगानीबाट हाल मासिक १० हजार रुपैंयाँ आम्दानी गरिरहनुभएको छ । ब्यवसायिक गोलभेँडा खेतिको लागि लगानी गर्नुभएको २५ सयको टनेला र २५ सयको बिउ नै अहिले उहाँको राम्रो आम्दानीको बाटो बनेको हो ।

उहाँले गोलभेँडासँगै अन्य तरकारीका बीउ र भैसीको दुध समेत बिक्रि गरेर आम्दानी बढाउँदै बचत पनि गरिरहनुभएको छ ।  रेनुकाले तरकारीको आवश्यक पर्ने पानीको लागि पोखरी निर्माण गरी दोहोरो फाईदा लिने उपाय अपनाउँदै माछा पाल्ने पनि सोँच बनाईरहनुभएको छ ।
  ‘जव वैदेशिक रोजगारीमा गएको घरपरिवारलाई बालसेवा समाजद्वारा सञ्चालित सामी परियोजनाले वित्तिय साक्षरता कक्षा सञ्चालन हुन थाल्यो तब मैले पनि सहभागी हुने अवसर पाएँ ।’ रेनुका भन्नुहुन्छ–‘मेरो जीवन अनि परिवारमा सकरात्मक  परिवर्तन नै त्यही कक्षाले दिलाएको हो ।’
रेनुकाका अनुसार कक्षा लिनु भन्दा अगाडी जति आम्दानी भएपनि कँहा कति खर्च भयो भन्ने पत्तै नहुने हुनाले बचतको हिसाबै हराउँथ्यो । तर बित्तिय साक्षरता कक्षाका प्रभावले हाल आम्दानी, खर्च र बचतको प्रष्ट हिसाब राख्न थाल्नुभएको छ । आम्दानी कमी भयो भने खर्चलाई घटाई सन्तुलन मिलाउनुपर्छ भन्ने उहाँलाई जानकारी छ ।
 छोराछोरी गरी ४ जनाको परिवार रहेको रेनुकाको श्रीमान ज्ञानबहादुर राईले पनि मलेसियाबाट घर फर्की हाल आफ्नै मातृभुमिमा ज्यालादारी कामबाट मासिक ३० हजार आम्दानी गर्दै हुनुहुन्छ ।
 सोँचे जस्तो कमाई मलेसियामा नभएपछि गाँउमै स्वरोजगार बन्ने  सपना बुनेर उहाँले व्यावसाय  शुरु गर्नुभएको हो ।
आम्दानी बढाउन र खर्च घटाउनका साथै कुनै पनि व्यावसाय रोजेर अगाडी बढ्नुपर्छ भनि कक्षामा छलफल भएपछि  यस्तो बाटो रोजेको उहाँ बताउनुहुन्छ ।
सुरक्षित आप्रवासन सामी परियोजनासँगको सहकार्यमा बालसेवा समाज नेपाल नेर्पा खोटाङले जिल्लाको बिभिन्न स्थानमा वित्तिय साक्षरता कक्षा सञ्चालन गरेपछि सहभागीहरुले खर्च घटाउँदै आम्दानीको बाटो समाईरहेका छन् ।