खोटाङ फागुन–३०, खोटाङस्थित बिभिन्न प्रहरी कार्यालयका ईन्चार्जहरुबीच सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । वैदेशिक रोजगारीका क्रममा हुने ठगी लगायतका घटनाहरुलाई नियन्त्रण गर्नका साथै सो क्रममा उत्पन्न हुने बिभिन्न समस्याहरुलाई स्थानीय स्तरमै समाधान गर्न सकियोस् भन्ने उदेश्यले बुधबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । 
बालसेवा समाज नेपाल नेर्पा खोटाङले सुरक्षित आप्रवासन परियोजना अन्तर्गत आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा जिल्लाका बिभिन्न प्रहरी चौकी तथा ईलाका प्रहरी कार्यालयका ईन्चार्जहरुको सहभागिता रहेको थियो । सदरमुकाम दिक्तेलबजारस्थित होटल शुभदिनमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका मुद्घा हेर्ने प्रहरीहरु समेत गरी ३० जना प्रहरीहरु सहभागी भएको परियोजना अन्तर्गत बिद्यालय तथा आम सञ्चार कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताउनुभयो । 
वैदेशिक रोजगार सम्बन्धी घटना तथा मुद्घाहरु वैदेशिक रोजगार बिभागले नै हेर्ने भए पनि स्थानीय स्तरमा उत्पन्न बिभिन्न समस्याहरु न्युनिकरणमा प्रहरीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बिषयमा कार्यक्रममा छलफल भएको थियो । प्रहरीले चासो मात्र देखाएको खण्डमा पनि वैदेशिक रोजगारीको क्रममा हुने ठगी लगायतका समस्याहरु न्यूनिकरण हुने आयोजकले जनाएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीको समग्र अवस्था, वैदेशिक रोजगारीमा जानेको तथ्याङक लगायतको जिल्लाको अवस्था, सो सम्बन्धी कानुनी ब्यवस्था र सुरक्षा निकायको भूमिका लगायतको बिषयमा प्रस्तुति गरिएको थियो । 

कार्यक्रममा सामी परियोजनाको जिल्ला संयोजक भक्त राई, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी र जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक चन्द्रभुषण यादबले अनुभब सहितको प्रस्तुति राखेर बिषयगत जानकारी गराउनुभएको थियो । 
अभिमुखिकरण कार्यक्रममा सहभागी प्रहरी ईन्चार्जहरुलाई वैदेशिक रोजगारीको क्रममा हुने ठगी लगायतका घटनालाई न्युनिकरण गर्न त्यस्तो कार्यमा संलग्नलाई नियन्त्रण तथा निगरानीमा राख्नका लागि प्रमुख जिल्ला अधिकारीले अनुरोध गर्नुभयो ।

 परियोजना अन्तर्गत सञ्चालित बिभिन्न कार्यक्रम तथा गतिबिधिले प्राप्त गरेको उपलब्धी र आईरहेको चुनौती बारे समेत प्रष्ट पारिएको कार्यक्रममा सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता अम्बिका दाहालले वैदेशिक रोजगारीका क्रममा आएका बिभिन्न समस्याका घटनाहरुबारे जानकारी गराउनुभएको थियो । 

बालसेवा समाजका अध्यक्ष चन्द्रकला भुजेलको अध्यक्षतामा शुरु भएको कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता नागेन्द्र यादबले वैदेशिक रोजगारीले निम्त्याएको मनोसामाजिक समस्या र परियोजनाको तर्फबाट भएको समाधानको प्रयासबारे प्रष्ट्याउनुभएको थियो ।