चैत्र–२ खोटाङ, खोटाङस्थित रावाबेंसी गाउँपालिका खार्पाका पूर्ब शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई पूनः शिक्षामन्त्रीको लागि सिफारिस गरिएको छ । यसअघि स्वास्थ्य र शिक्षा मन्त्रीको कार्यभार सम्हालिसक्नुभएको पोखरेललाई आज माओबादी केन्द्रको तर्फबाट केपी ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको लागि सिफारिस गरिएको हो । 
प्रमुख सत्ता सााझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएकोमा पोखरेलको नाम उक्त मन्त्रालयको लागि सिफारिस गरिएको हो । पोखरेल महोत्तरीबाट प्रतिनिधि सभाको सदस्यमा निर्बाचित बन्नुभएको हो ।  पोखरेलसँगै माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री र पूर्व गृहमन्त्री शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी पार्टी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगरलाई खानेपानी मन्त्रालय र चक्रपाणि खनाललाई कृषि तथा शहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
 यता, नेकपा एमालेले पनि ६ मन्त्री र एक राज्यमन्त्रीसहित सात मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेबाट सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् भने अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगारको जिम्मेवारी दिईएको छ ।
अर्का नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री, शेरबहादुर तामाङलाई कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ ।
काभ्रे २ बाट चुनाव जितेका गोकुल बास्कोटालाई भने सञ्चार राज्यमन्त्री बनाइएको छ ।   यस्तै, यसअघि वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।