खोटाङ चैत्र–२,  खोटाङमा वडाध्यक्षमाथि आक्रमण गर्ने समुहलाई कार्बाहीको दायरामा ल्यान नसकेको भन्दै आपत्ति जनाईएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाअध्यक्ष लिला चौहानमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै अन्य वडाध्यक्षहरुले आपत्ति जनाएका हुन् । 
गत फागुन ३० राति करिब दश बजेको समयमा घर फर्कदै गरेका अध्यक्ष चौहानलाई आक्रमण गर्ने आक्रमणकारीलाई अहिलेसम्म पनि पक्राउ नगरेकोमा आपत्ति जनाउँदै शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेका छन् । 
नगरपालिकाको १५ वडा मध्ये दश वडाका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, वडा नम्बर ८ का अध्यक्ष चौहानमाथि गुण्डागर्दी शैलीमा साँघातिक आक्रमण गरेको भन्दै घोर भत्सना गरिएको उल्लेख छ । बिज्ञप्तीमार्फत आक्रमणकारीहरु फरार रहेको र जिम्मेवार प्रशासनले आक्रमणकारीलाई नियन्त्रणमा नलिएकाले तुरुन्त नियन्त्रणमा लिइ कानूनी दायरामा ल्याउन सम्बन्धित निकाय र प्रशासनको ध्यानाकार्षण गराईएको छ ।
मूलुकमा जनप्रतिनिधिहरुमाथि पटक–पटक भइरहेको आक्रमण प्रति विज्ञप्तिमार्फत आपत्ति जनाउँदै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् । विज्ञप्तिमा वडा नम्बर ३, ४, ७ र १० का वडाअध्यक्ष बाहेक सबैले हस्ताक्षर गरेका छन् । 
रातको समयमा वडा नम्बर ७ का स्थानीय जोशीचन्द्र राई नेतृत्वको पाँच÷छ जना युवाहरुले अध्यक्ष चौहानमाथि आक्रमण गरेको प्रत्येक्षदर्शीले बताएका छन् । आक्रमण गर्नेमा जोशीचन्द्रसँगै विसम राई, बद्री खड्का लगायतका युवाहरु रहेको खुलेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभएको छ ।   
अध्यक्ष चौहान बुधबार साँझ वडा कार्यालय जाने बाटो स्काभेटरमार्फत मर्मत गराएर घर फर्कनेक्रममा उक्त समूहले सोही स्थानको दारुलाडाँडामा बाटो छेकेर आक्रमण प्रयास गरेको जनाइएको छ । दारुलाडाँडाबाट भागेर हिँडेका अध्यक्ष चौहानलाई बानाचुङ बजारस्थित लालबहादुर खड्काको घरमा आक्रमण गरेको प्रत्येक्षदर्शीले बताएका छन् । 
घटनास्थलमा अध्यक्ष चौहानले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट क्षतिग्रस्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।