रामधन बेदना/खोटाङ,
चैत्र– ४ , निक्कै लामो रस्साकस्सीपछि अन्नतः कक्षा–९ मा अध्ययनरत सोह्र वर्षीय तेजकुमार राईले नै प्रथम खोटाङ आईडलको उपाधी हात पारेका छन् । जिल्लामा गत मंसिरदेखि भएको गायन प्रतियोगितामा उत्रिएका ‘को भन्दा को कम ’का प्रतिभाहरुलाई किनारा लगाउँदै फाईनल चरणबाट तेजले पहिलो आईडलको बाजी मारेका हुन् । 
गायन प्रतिभाकै कारण सदरमुकाम दिक्तेलबजारको माउण्ट एभरेष्ट ईङ्लिस बोर्डिङ स्कुलमा निःशुल्क अध्ययन गरिरहेका तेजले आफ्नो प्रस्तुतीको आधारमा निर्णायक र आयोजकबाट प्राप्त गरेको अंक र शुभचिन्तकका मतले  फाईनलका चार प्रतिस्पर्धीलाई उछिन्दै पहिलो आईडलको उपाधी चुमेका हुन् । 

उस्ता–उस्तै प्रतिभा फाईनलमा प्रबेश गरेका कारण उपाधी कस्ले जित्ला भन्ने अनुमान गर्न कठिन थियो । उपाधिको छिनोफानो शुभचिन्तकको भोटले गर्ने अनुमान गरिएकोमा भोटमा समेत त्यति धेरै अन्तर नआएको बताईएको थियो ।
करिब ६ सय गायन प्रतिभालाई पछि पार्दै फाईनल चरण आईपुगेका तेजकुमारले उपाधीसँगै नगद ५४ हजार ५ सय ७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् । पुरस्कार हात पार्नुका साथै राईलाई छ महिना निःशुल्क संगीत विद्यालयमा अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्था समेत गरिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताउनुभयो । 
विजेता राईलाई दिक्तेलस्थित ईटिसी मोवाईल सेन्टरले २१ हजार मुल्य बराबरको मोटोरोला मोवाईल सेट प्रदान गरेको छ । केपिलासगढी गाउँपालिका ५ सप्तेश्वरका राईलाई माउण्ट एभरेष्ट ईङलिस बोर्डिङ स्कुलले कक्षा–४ देखि निःशुल्क अध्ययनको अवसर दिलाईरहेको छ ।

 २०६८ सालमा जिल्लामा आयोजित गायन प्रतियोगिता ‘प्रथम खोटाङ तारा’ मा उत्कृष्ट–२० मा पर्न सफल तत्कालिन बाल प्रतिभा तेजको गायकीलाई देखेर बिद्यालयले कक्षा–१२ सम्म निःशुल्क अध्ययनको अवसर प्रदान गरेको थियो ।

पठनपाठनमा समेत अब्बल तेजले फाईनल चरणमा अन्य अडिसनभन्दा चामत्कारिक गायन प्रस्तुत गरेको निर्णायकहरुको प्रतिक्रिया छ । 
‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नाराका साथमा आयोजित आईडलमा जन्तेढुंगा गाउँपालिकाको रोहित राई दोस्रो, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी अमिता राई तेस्रो, केपिलासगढी गाउँपालिकाकै सुमन राई चौथो र दिप्रुङ गाउँपालिकाकी दिपा राई पाँचौं भएका छन् । 
प्रतियोगितामा दोश्रो हुनेले नगद २४ हजार ५ सय ७४ का साथमा ३ महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड तथा तेस्रो हुने प्रतिभालाई नगद १० हजार ५ सय ७४ का साथमा एक महिना सँगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्वारा आयोजित गायन प्रतियोगितामा चौथो हुनेलाई रु दुई हजार ७४ नगद, एउटा गीत रेकर्डिङ र प्रमाणपत्र, पाँचौं हुनेलाई नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ । 

प्रतियोगिताको उत्कृष्ट १७ देखि नै भोटिङको समेत ब्यवस्था गरेर छनौट गर्न थालिएकोमा फाईनलमा ४० प्रतिशत भोट, ५० प्रतिशत निर्णायक र १० प्रतिशत आयोजकको अंकलाई छनौटको आधार बनाईएको थियो ।

उपाधीमाथि दावेदार केही उत्कृष्ट प्रतिस्पर्धी भने उत्कृष्ट १२ बाट नै बाहिरिएका थिए । 

गत मङ्सिर २३ गतेबाट शुरु प्रतियोगिताको फाईनलमा गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक आशिष ताम्राकार र संगीतकार भिमसेना राईले निर्णयकको भूमिका निर्वाह गर्नुका साथै सांगीगितक प्रस्तुति दिएका थिए । 
राति अबेरसम्म सञ्चालन भएको कार्यक्रममा नेपाल आईडलका उत्कृष्ट आठमा पर्न सफल गायक उल्सन श्रेष्ठ, गायत रेवत राई लगायतले प्रस्तुती दिएका थिए ।